बडादसैं आजबाट सुरु, घरघरमा जमरा राखेर घटस्थापना मनाइँदै

काठमाडौँ । नेपालीहरूको महान पर्व बडादसैं आजबाट सुरु भएको छ ।
आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि दसैंको सुरुवात भएको मानिन्छ ।
धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाका लागि बिहान १० बजेर २३ मिनेटको शुभसाइत तोकेको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने दसैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन पूजाकोठा, दसैँघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ ।
घटस्थापनाका दिन पूजा कोठामा घंैटो अथवा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ ।
जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ ।
माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ ।
विभिन्न नौ देवीको पूजा अर्चनापश्चात दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार असोज १९ गते बुधबार विजया दशमीका दिन टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।
दसैँ सुरु भएसँगै देशभर शक्तिपिठहरूमा भक्तजनको भिड लागेको छ ।






