एमालेको झुठा आश्वसन अब जनताले पत्याउँदैन : काँग्रेस सहमहामन्त्री यादव

जनकपुरधाम । एमालेको झुठा आश्वसन अब जनताले नपत्याउँने नेपाली काँग्रसका सहमहामन्त्री एवं धनुषा ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेन्द्र यादवले बताएका छन् ।

शुक्रबार धनुषाको बटेश्वरमा साझा गठबन्धनका उम्मेदवारद्वारा आयोजित घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विगतमा एमालेका उम्मेदवारले पटक–पटक जितेर गए पनि यस क्षेत्रको विकासमा केही नगरेको बताए । एमालेले गर्न नसकेको काम आफू पाँच वर्षमै गरेर देखाउने दावी पनि उनले गरे ।

एमालेले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै यादवले आफू जितेमा जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएका महसुस गराउने दावी पनि गरे । हामी निर्वाचत भए नेकपा एमाले गर्न नसकेका काम गर्नेछौं । यस क्षेत्रका जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउने छौं, यादवले भने ।

शिक्षामा सबैको पहुँच, स्वास्थ्य,खानेपानी, सडक र पूर्वाधारको विकास लगायत ऐतिहासिक सम्पदा, विविध संस्कृति र परम्पराको संरक्षणमा आफ्नो प्राथमिकता रहने पनि उनको भनाई थियो । उनले गठबन्धनका उम्मेदवारलाई निर्धक्क भएर मतदान गर्न जनतालाई आग्रह गरे ।

उनले धनुषाको चार नम्बर क्षेत्रलाई विकासको नमूना क्षेत्र बनाउने दावी गरे । यादवले जनताका समस्या आफूलाई थाहा भएको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

कार्यक्रममा धनुषा क्षेत्र नम्बर ४ (ख) बाट गठबन्धनका साझा उम्मेदवार सत्रुधन महतो लगायतसत्ता गठबन्धनमा रहेका क्षेत्रीय तथा जिल्ला नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया