विश्वकप आजदेखि कतारमा सुरु हुँदै, इतिहासमा पहिलोपटक महिला रेफ्री समावेश

काठमाडौं । विश्वकप फुटबलको २२ औँ संस्करण आजदेखि कतारमा सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत रङ्गशालामा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ । उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर खेल्नेछन् ।
खेल नेपाली समय अनुसार बेलुका पौने १० बजे सुरू हुनेछ । यस पटकको विश्वकपमा सहभागी ३२ देशलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समुहका शिर्ष दूई टिम अघिल्लो चरणमा प्रवेश गर्नेछन् । विश्वकपको विजेताले ४ करोड २० लाख डलर पुरस्कार पाउनेछ ।
यस्तै, उपविजेताले ३ करोड डलर पाउँदा तेस्रो हुनेले २ करोड ७० लाख र चौथो हुनेले २ करोड ५० लाख डलर पाउनेछ । विश्वकपका खेल ८ वटा रंगशालामा हुनेछन् । प्रतियोगिता ५ अर्ब मानिसले टेलिभिजनमा हेर्ने अनुमान गरिएको छ । यस्तै, इतिहासमै पहिलो पटक जाडो याममा विश्वकप फुटबल हुन लागेको हो । कतारको गर्मीका कारण प्रतियोगिता जाडो महिनामा सारिएको हो ।
यसपटक भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) लाई थप सहयोग मिल्नेछ । विश्वकपमा प्रयोग हुने अल रिहला बलमै विशेष यन्त्र रहेकाले अफसाइड मापनमा निकै सहयोग पुग्नेछ । विश्वकप फुटबलको इतिहासमा पहिलोपटक महिला रेफ्रीलाई समावेश गरिएको छ ।
विश्वकपको इतिहासमा पहिलो पटक एकै खेलमा ५ खेलाडी परिवर्तन गर्न पाइने नियम लागू हुँदैछ । पछिल्लो डेढ दशक विश्व फुटबलमा वर्चस्व जमाएका लिओनल मेस्स, क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिक, लुइस स्वारेज, थियागो सिल्भा, युगो नागामोटो, म्यानुएल न्युयोर, करिम बेञ्जामे, एमेन म्याथोटि र सर्जियो बस्क्योटका लागि यो विश्वकप सम्भवतः अन्तिम हुनेछ ।






