तितो यथार्थ : आनन्द ढुंगानाको डिजाइनमा यसरी हराइए मातृका

राम एकवाल महरा

पाँच दलीय गठबन्धनका काँग्रेसी नेता आनन्द ढुंगानाको कदापी मन थिएन माओवादी नेता एवं गठबन्धनका साँझा उम्मेदवार मातृका प्रसाद यादवले चुनाव जितोस् । मातृकाले चुनाव जितेपछि यस क्षेत्रमा आफ्नो राजनीति ओझेलमा पर्ने उनको निष्कर्ष थियो । जसकारण काँग्रेसी कार्यकर्ताहरुलाई कहिल्यै खुलेर भनेनन् मातृकालाई भोट हाल्नुस भनेर । उनले क्षेत्रभरि घुमेर ठुल–ठुला भाषण बाहेक केही गरेनन् । उनले अन्तिम समयसम्म पनि काँग्रेसी कार्यकर्ताहरु माझ मातृकालाई भोट हाल्नु भनेर मुख खोलेनन् । बरु उल्टै मातृका हराउन उनले आन्तरिक रुपमा दुत परिचालन गरे । परिणामतः प्रदेशमा संजय महतो (काँग्रेस) जिते भने मातृका (माओवादी) ले पराजय व्यहोर्नु पर्यो ।

यता एमाले नेताहरुको पनि कदापी मन थिएन कि एमाले–जसपा गठबन्धनका उम्मेदवार जसपा नेता दिपक कार्कीले चुनाव जितोस । उनीहरुले पनि दिपक कार्कीलाई चुनाव हराउन चाहेका थिए । तर दिपकलाई सहयोग नगर्दा मातृकाले चुनाव जित्ने र मातृकाले चुनाव जितेपछि झन् आफूहरुको लागि झन घातक सावित हुने निचोडमा एमालेजनहरु पुगे ।

तत्पश्चात आनन्द ढुंगानासहितका काँग्रेसीहरु र एमालेहरुजन एउटै योजना बुन्न थाले – ‘मातृकालाई जसरी पनि हराउने र दिपक कार्कीलाई जिताउने ।’

काँग्रेस एमालेको एउटै निष्कर्ष थियो – ‘मातृकाले दोस्रो चोटी चुनाव जितेपछि यस क्षेत्रमा झन् शक्तिशाली हुन्छ र काँग्रेस एमाले चोईटिन्छ ।’ उनीहरु दिपक कार्कीलाई जिताए पनि अर्को चोटी फाल्न त्यति गाह्रो नपर्ने तर मातृकाले जितेपछि अर्को चोटी उनलाई फाल्न फलामको च्यूरा चपाउनु सहर हुने र तत्पश्चात् आफूहरु (काँग्रेस–एमाले)को यस क्षेत्रमा उदय असम्भवप्रायः हुने निचोडमा पुगिसकेका थिए ।

हुनतः आनन्द ढुंगानाले दिपक कार्कीलाई पनि मन पराएका थिएनन् । तर आफ्नो राजनीति भविष्य सुरक्षित पार्न मातृकालाई असयोग र दिपकलाई आन्तरिक सहयोग गर्नु उनको लागि बाध्यात्मक अवस्था थियो ।

तत्पश्चात् एमालेले कम्मर कसेर दिपक कार्कीलाई जिताउन न्वारानदेखिको बल लगाए भने आनन्द ढुंगाना (काँग्रेस)ले दिपकलाई सहयोग गर्न आफ्ना कार्यकर्ता वृतमा आन्तरिक सर्कुलर गरे । जसको फलस्वरुप मंसीर ३ गते राति उक्त क्षेत्रमा टोल–टोलका काँग्रेसी नेता कार्यकर्ताको हातमा मात्रै दिपक कार्कीको ८८ लाख रुपैँया बाँडिएको ठूलै हल्ला छ काँग्रेसी वृतमा ।

अब मेरो प्रश्नः

के आनन्द ढुंगाना, दिपक कार्की जितेर गएपछि संसदमा मधेशीहरुको प्रतिनिधित्व हुन्छ ? कदापी हुदैन । संसदमा आफ्नो प्रतिनिधित्व भएको महसुस पनि हुदैन मधेशी समुदायमा । तर काँग्रेसहरुले हराउन भूमिका खेले पनि यदि मातृका यादव जितेर गएपछि काँग्रेसी मधेशीहरुको पनि प्रतिनिधित्व हुन्थ्यो । सबै मधेशीहरुको छाती चौडा हुन्थ्यो । र, विगतमा पनि भएकै हो । आनन्द ढुंगाना, दिपक कार्कीले मधेशीको हकहितको लागि एक शब्द बोलेको मधेशी जनता मात्रै होइन सिंगो मुलुककै जनताले आजसम्म सुन्न पाएको छैन होला । आनन्द ढुंगाना र दिपक कार्कीको आजसम्म मधेश मुद्दा सम्बोधनमा कुनै कतै योगदान छ भने हेराईदेउ यो मेरो खुल्ला चुनौती छ ।

कतै कुनै मधेशको आन्दोलनमा योगदान छ भने हेराई देउ । तर मधेश मुद्दामा मातृका यादवको योगदानको बारेमा मैले भन्नु भन्दा पनि बढी हराउन भूमिका खेल्नेहरुलाई नै बढी जानकारी नै होला । सायद मैले उनको योगदानको बारेमा धेरै कोट्याइ रहनु पर्दैन होला ।

जे होस् आज क्षणिक खुशी भएपनि भोली संसदमा आफ्नो प्रतिनिधित्व हेर्न नपाउँदा दिर्घकालीन रुपमा दुःखी हुन्छन हराउन भूमिका खेल्नेहरु । त्यतिखेर संसदमा मातृका यादवको कमी महसुस हुनेछ ।

अन्त्यमा मेरो क्षेत्रको नवनिर्वाचित सांसद तथा अबदेखिको माननीय दिपक कार्कीलाई बधाई । यतिका दिनसम्म सामन्ती राजनीति गरेपनि आगामी दिनमा देश तथा मधेशका निमुखा जनताहरुका लागि राजनीति गर्नुहुनेछ भन्ने शुभकामना ।

यो सामग्रीमा स्तम्भकारको नितान्त व्यक्तिगत विचार प्रकाशित गरिएको हो ।

प्रतिक्रिया