दलित महिला समुदायको उत्थानका लागि जनप्रतिनिधिहरूको सामूहिक प्रतिबद्धता

बर्दिबास । दलित महिला समुदायको उत्थानका लागि जनप्रतिनिधिहरूको सामूहिक प्रतिबद्धता जनाएका छन् ।
महोत्तरीको पिपरा गाउँपालिका र सर्लाहीको बलरा नगरपालिकाका दलित समुदायका महिला, किशोरी तथा वडा सदस्यलाई केन्द्रीत गरेर सञ्चालित १२ महिने ‘नेतृत्व परियोजनामा’ सहभागीहरूको प्रगति देखिसके पछि दुबै पालिकाका जनप्रतिनिधिहरूले उनीहरूको उत्थानका लागि आवश्यक योजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सेभ द चिल्ड्रेनको सहयोगमा धनुषाको रतौली युवा क्लब र सर्लाहीको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा सञ्चालित ‘नेतृत्व परियोजनामा’ दुबै पालिकाका गरी ५० जनाको सहभागिता रहेको छ ।
‘नेतृत्व परियोजनामा’ आवद्ध भएपछि आफ्नो वृत्तिविकास कसरी गर्ने, आफ्ना अधिकारका बारेमा जानकार हुने, लैङ्गिक हिंसा के हो ? यसको न्यूनिकरण कसरी हुन सक्छ ? समुदायमा आफ्नो भूमिकालाई कसरी स्थापित गराउने, मानवअधिकारबारेको जानकारी, क्षमता अभिवृद्धि लगायतका विषयमा जानकार भएको सहभागीहरूले बताएका थिए ।
पिपरा गाउँपालिकाबाट ‘नेतृत्व परियोजनामा’ सहभागी भएकी रिता कुमारी महराले समाजमा लैङ्गिकताको आधारमा हुने हिंसा अन्त्यका लागि अबदेखि सक्रिय रुपमा आवाज उठाउने, आफ्नो अधिकारको बारेमा खुलेर बोल्ने र आफ्ना कुरालाई स्पष्ट रुपमा राख्ने आत्मविश्वास बढेको बताइन् ।
पिपरा नगरपालिकाकी गुलम कुमारी रामले परियोजनामा आवद्ध भइसकेपछि बोल्न सक्ने क्षमता अभिवृद्धि भएको, आफूलाई कुनैपनि स्थानमा कसरी प्रस्तुत गर्ने, महिला भएकै कारण भोग्नु परेको हिंसा, दलित भएकै कारण भोग्नु परेको हिंसा लगायतका विषयमा जानकार हुँदा अबको दिनमा यस्ता विभेद भएमा त्यसविरुद्ध आवाज उठाउन सक्ने आत्मविश्वास बढेको बताइन् ।
बलरा नगरपालिकाकी चन्दा देवी बैठाले यस परियोजनामा आवद्ध भइसकेपछि कसरी बोल्ने, आफ्ना कुरा कसरी राख्ने, समाजमा कसैले कुनै विभेद गरे त्यसलाई कसरी रोक्ने लगायतका विषयमा आफू बोल्न सक्ने भएकोमा खुसी लागेको बताइन् ।
बलराकै बबिता कुमारी बैठाले लैङ्गिक हिंसाबारे जानकारी पाउँदा र आफ्नो कुरा कसरी राख्ने, कुन निकायमा गएर राख्ने भन्नेबारे जानकारी पाउँदा आगामी दिनमा समाजमा कुनै घटना भएमा सचेतना फैलाउन सक्ने भएको बताइन् ।
बर्दिबासमा शनिवारबाट सुरु भएको दुई दिने प्रशिक्षण कार्यक्रममा बोल्दै रतौली युवा कल्बका अध्यक्ष साकिर खानले परियोजनाले मधेशका दलित महिलाहरूको क्षमता अभिवृद्धिका लागि ठूलो भूमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा रतौली युवा क्लबका कार्यक्रम संयोजक पुजनारायण साहले आगामी दिनमा पनि यस्ता योजनाको आवश्यकता रहेको बताए ।
यस्तै सर्लाहीको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका अध्यक्ष गायत्री महतोले मधेशका महिला त्यसमा पनि दलित समुदायका महिलाहरू झन् विभेदमा रहेको हुँदा यस परियोजनाले त्यस्ता विभेद अन्त्यका लागि मद्दत पुग्ने बताइन् ।
कार्यक्रममा बोल्दै सेम द चिल्ड्रेनका सिफ्ट तथा पैरवी संयोजक अभिलेष कर्णले परियोजनामा सहभागी भएकाहरूले समाज रुपान्तरणमा आगामी दिनमा भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा रहेको बताए ।
उनले मधेशका दलित महिलाको वृत्ति विकासका लागि परियोजनाले परिवर्तनको नयाँ पाइला चाल्ने भएकाले दलित महिलामाथि दलित भएकै कारण हुने विभेद, हिंसा, आवाज दबाउने जस्ता गतिविधि विस्तारै अन्त्य हुँदै जाने आफूहरूले विश्वास लिएको पनि बताए ।






