विश्वकै कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि नेपाली जेलबाट जेलमुक्त

काठमाडौं । १९ वर्षदेखि नेपाली जेलमा रहेका विश्वकै कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराज जेलमुक्त भएका छन्। सर्वोच्च अदालतले स्वास्थ्य अवस्था र उमेरलाई ध्यानमा राख्दै तत्काल छाड्न आदेश दिएसँगै उनी बाँकी नौ महिना कैद छुट पाएर जेलमुक्त भएका हुन्।
प्रहरीले उनलाई अध्यागमन विभागको जिम्मा लगाएको छ। त्यहाँबाट आवश्यक प्रक्रिया पूरा गरी उनलाई पुनः नेपाल आउन नपाउने गरी निष्कासनको तयारी गरिएको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले तत्काल शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देश पठाइदिन बुधबार आदेश दिएको थियो।
जेलमुक्त भएसँगै बिकिनी किलर भनेर चिनिने चार्ल्स शोभराजले आफूलाई गलत रूपमा चित्रण गरेको भन्दै अन्तर्राष्ट्रिय मिडियाहरूविरुद्ध मुद्दा लड्ने भएका छन्। शोभराजका कानुन व्यवसायी गोपाल सिवाकोटीले बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बिबिसीदेखि नेटफ्लिक्ससम्मलाई मुद्दा हाल्ने बताएका थिए ।
उनले बिबिसी र नेटफ्लिक्सविरुद्ध मुद्दा हाल्ने तयारी गरेका उनका कानुन व्यवसायीले बताएका हुन्। बिबिसी र नेटफ्लिक्सले सन् २०२१ मा शोभराजका बारेमा ‘द सर्पेन्ट’ नामक ड्रामा सिरिज बनाएका थिए, जसमा उनका अपराधहरूलाई समेटिएको छ।






