भ्रष्टाचार नियन्त्रणका लागि काम गर्नुपर्ने भन्दै टीआई नेपालद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टी.आई) नेपालले नवगठित सरकारको ध्यानाकर्षण गराएको छ ।
चितवनको सौराहामा शुक्रवार सम्पन्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल आवद्ध १४ वटा सङ्घसंस्थाहरूको संयुक्त भेलाबाट सरकारलाई ध्यानाकर्षण गराउने प्रस्ताव पारित गरेको हो ।
हालै सम्पन्न आम निर्वाचनपछि गठित नयाँ सरकारले भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्द्धनका निम्ति कार्य गर्नुपर्ने र आम जनताको अपेक्षा अनुरुप कार्य गर्न ध्यानाकर्षण गराएको हो ।
सुशासनको अभावमा भ्रष्टाचारले मुलुकको विकासमा तीव्र अवरोध पु¥याउने र लोकतन्त्रलाई सबल बन्न नदिने तथ्य सर्वविदित रहेको विषयमा समेत सजग हुन पनि टीआई नेपालले धयानकर्षण गराएको टिआइ नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल आवद्ध रहेको महिला जागरण सङ्घ, इलाम, नागरिक सरोकार मञ्च, मोरङ, सङ्कल्प समुदायमा आधारित पुनर्स्थापना नेपाल, सुनसरी, मानव अधिकार र वातावरण विकास केन्द्र नेपाल, उदयपुर, मानव अधिकार, सचेतन तथा विकास केन्द्र, दोलखा, भ्रष्टाचार विरुद्ध अभियान, चितवन, सुशासनका लागि नागरिक समाज, पोखरा, पारदर्शी नेपाल सिद्धार्थनगर, रुपन्देही, पारदर्शी सरोकार समूह, बुटवल, रुपन्देही, सुशासन अभियान, गुल्मी, बागेश्वरी असल शासन क्लब, नेपालगञ्ज, नागरिक सरोकार सङ्घ, सुर्खेत, सदाचारका लागि सामाजिक पहल, धनगढी र समाज कल्याण समाज, दार्चुलाको संयुक्त भेलाबाट ध्यानाकर्षण गराईएको हो ।






