आज बलिदानी दिवस मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक विदा

जनकपुरधाम । हरेक माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरुको स्मरणमा विगत चार वर्षदेखि मधेस प्रदेश सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

मधेश प्रदेश सरकारले यस पटकको बलिदानी दिवस मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मधेश भवनमा रहेको कवर्डहलमा मनाउने भएको छ । २०६३ सालमा भएको मधेश विद्रोहको सम्झनामा प्रदेश सरकारले बलिदानी दिवस मनाउन मनाउने गरेको छ।

माघ ५ गते सिराहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेशका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो । यो दिनलाई स्मरण गर्दै प्रदेश सरकारले जनकपुरधाममा विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने मधेस प्रदेश सरकारका मन्त्री संजय यादवले जानकारी दिए ।

समारोहमा प्रदेश सरकारका मन्त्री, सांसद तथा बिभिन्न दलका शिर्षस्थ नेताहरुको उपस्थिती रहनेछ भने मधेश आन्दोलनमा सहिद भएका ६३ जना शहीद परिवार तथा घाइतेहरुलाई सम्मान गरिने उनले बताए ।

उनले मृतक शहिद परिवारलाई २ लाख र घाईते भएका परिवारलाई अवस्था हेरी २५ हजार देखि २ लाखसम्म रुपैयासम्म सहयोगसहित सम्मान गरिने जनाए ।

प्रदेश सरकार बन्नुअघि मधेश केन्द्रित दलहरुले आ–आफ्नो तरिकाले बलिदानी दिवस मनाउँदै आएका थिए ।

प्रदेश सरकारले गत वर्ष बलिदानी दिवस राजविराजमा मनाएको थियो ।

यता जनता समाजवादी पार्टी(जसपा) नेपालले बलिदानी दिवस लहानमा मनाईरहेको छ । उक्त कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुको उपस्थिती रहेको छ ।

यसै अवसरमा प्रदेश सरकारले बिगत ५ बर्षदेखि सार्वजनिक विदा दिने गरेको छ ।

प्रतिक्रिया