धनुषामा प्रहरी हिरासतबाट भागेको छ मध्ये चारजना पक्राउ

जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थुनुवा कक्षको पर्खाल भत्काएर भागेका ६ जना अभियुक्त मध्ये ४ जना अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लागु औषध मुद्धाका अभियुक्त क्षिरेश्वरनाथ नगरपालिका ५ का विनोद कुमार शर्मा रहेका छन् । उनलाई जिल्लाको मथिला नगरपालिका १० लालगढको रातो खोलाको बगर छेउमा लुकिछिपि बसिरहेको अवस्थामा बुधबार राति १ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
त्यसैगरी यसअघि अभद्र व्यवहार तथा सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दाका अभियुक्तका अभियुक्त मिथिला २ का २५ बर्षीय हरिदीप सिंह, सोही मुद्धाका अभियुक्त क्षिरेश्वरनाथ नगरपालिका २ का अमित मण्डल र हातहियार तथा खरखजाना मुद्धाका अभियुक्त रोशनकुमार महतो पक्राउ परेका थिए ।
अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको अपराध मुद्दाका हरिदीपलाई मङ्गलबार राति पक्राउ गरिएको प्रहरीको भनाई छ । यसअघि अमितलाई मङ्गलबार दिउँसो पक्राउ गरेको डिएसपी क्षेत्रीले जनाए ।
त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो ।






