रास्वपाको तर्फबाट सरकारमा सहभागी तीनै जना मन्त्रीले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री बनेकाहरूले आइतवारै राजीनामा बुझाउने तयारी गरेका छन् ।

आइतवार दुई चरणमा बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकारमा रहेका रास्वपाका दुई मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिने तयारी गरेका छन् ।

तीनैजना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने छन् ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरूले आइतवार राजीनामा बुझाउने बताए ।

रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सरकारमा सहभागी भएको रास्वपा तेस्रो ठूलो दलको रुपमा सहभागी भएको थियो । तर, रास्वपाका पार्टी सभापति रवी लामिछानेले नेपाली नागरिकता नै नलिई निर्वाचनमा सहभागिता जनाएको विषयमा सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएको थियो ।

उनले नागरिकता लिएपनि सांसद पद नरहेकाले सरकारमा सहभागी हुने र पुनः गृह मन्त्री बन्ने विषयमा विवाद भएपछि रास्वपा सरकारबाट बाहिरिएको हो ।

प्रतिक्रिया