जसपा मधेश प्रदेश युवा समितिको बैठक सम्पन्न, युवाका समस्याबारे प्रदेश सरकारलाई घचघच्याउने निर्णय

जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी युवा सङ्घ मधेश प्रदेश समितिको बैठक सम्पन्न भएको छ।

जसपा, मधेश प्रदेश समितिका मुख्य सचिव दिनेश कुमार यादवको प्रमुख आथित्यमा बैठक भएको हो । साथै विशिष्ट अतिथि जसपा मधेश प्रदेश समिति सचिव जितेन्द्र यादव, समाजवादी युवा सङ्घको केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्ज सञ्जिव यादव, विशेष अतिथि महासचिव दिलिप पटेल, सचिव अशोक मण्डलको पनि उपस्थिति रहेको थियो।

मधेश प्रदेश युवा समितिका अध्यक्ष आतिश कुमार सिंह यादवको अध्यक्षतामा बसेको बैठकले स्थानिय तह, प्रदेश र प्रतिनिधि सभामा निर्वाचित सम्पूर्णलाई शुभकामना र बधाई दिएका छन्।

बैठकमा उपस्थिति सम्पुर्ण युवाहरूले पार्टीले युवा प्रति विशेष ध्यान दिनुपर्ने तथा आरक्षणको व्यवस्था गर्नु पर्ने माग गरेको छन्। पार्टीले विगतमा युवाहरूप्रति देखाएको उदासिनताले गर्दा धेरै युवाहरू पार्टी छाडेको, रूष्ट बनेको र निष्कृय भएको युवा सदस्य एंव पदाधिकारीहरूले बैठकमा उल्लेख गरेका छन् ।

पार्टीको प्रतिनिधिका रूपमा बैठकमा प्रमुख अतिथिका रूपमा रहेका दिनेश कुमार यादवले अब पार्टी युवा लगायत अन्य भातृसङ्गठनप्रति विशेष ध्यान दिने र आरक्षणको मागलाई पनि सम्बोधन गरिने बताए ।

साथै अब रूष्ट रहेका युवासँग कुरा गरेर पुन: सङ्गठनमा सक्रियताका साथ लाग्न, निष्क्रिय रहेकालाई सक्रिय पार्न पहल गर्न र साथै सङ्गठन छोडेका र आउन नचाह्नेहरूलाई हटाइ पुनर्निमाण गर्दै गठन गर्न निर्देशनसहित निर्णयहरू गर्न मुख्यसचिव दिनेश कुमार यादवले युवा समितिलाई सुझाव दिए ।

पुनर्गठन प्रक्रियाका लागि भनेर बैठकले यहि फागुन १९ गते विरगंजमा बैठक राख्ने र सक्रिय रहेका पदाधिकारी एंव सदस्यहरूलाई राखेर सङ्गठन पुनर्गठन र विस्तार गर्ने गरी निर्णय पारित गरेको मधेश प्रदेश युवा समितिका मुख्य सचिव ओम यादवले जानकारी दिए ।

अब पार्टीसँग विशेष सहकार्य गरिने, मधेशमा रहेका युवाहरूको समस्या, रोजगारका समस्या लगायत पार्टी भित्र पनि युवाका बारेमा ठोस निति निर्माण गर्न पहल गर्दै सङ्गठनले मधेश भित्र युवा लक्षित कार्यक्रम र सहकार्य एंव विस्तार गर्दै प्रदेश सरकारलाई पनि युवा रोजगार, सुरक्षा, व्यवस्थापनका विषयमा घच्घच्याउने पनि यादवले बताए ।

प्रतिक्रिया
    ट्याग: