भ्रष्टाचार मुद्दा पुष्टि भएसँगै शम्भुनाथ नगरपालिकाका नगर प्रमुख गुप्ता निलम्बनमा

सप्तरी । भ्रष्टाचार आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार नगरप्रमुख गुप्ताविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै नगर प्रमुख गुप्ता निलम्बनमा परेका हुन् ।

नेकपा एकीकृत समाजवादीबाट निर्वाचित नगरप्रमुख गुप्तामाथि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घूस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको थियो ।

नगर प्रमुख गुप्ता र नगरपालिकाका इन्जिनयर रामचन्द्र साहबीचको आपसी मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि घुस मागेको पुष्टि हुनासाथ बुधवार विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उप दफा (१) को कसुरमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत माघ ३ गते इन्जिनियर साहलाई एक लाख ४० हजार रुपैयाँ घुस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो । इन्जिनयर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगर प्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

दुवै जनालाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा(१) को कसुरमा बिगो एक लाख ४० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन ,२०५९ को दफा ३ को उपदफा (१) र सोही दफ ३ को उपदफा(१) देहाय खण्ड (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विशेषमा आरोपपत्र दायर भएसँगै स्वत: निलम्बित भएका नगर प्रमुख गुप्ता जिल्लामा निलम्बित हुने पहिलो नगर प्रमुख होइनन् । यसअघि राजविराज नगरपालिकाका नगर प्रमुख भिमराज यादविमाथिसमेत विशेष अदालतमा भ्रष्टाचारको आरोपमा अख्तियारले आरोपपत्र दायर गरेपछि उनीसमेत निलम्बित छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ मा उक्त ऐनअन्तर्गतको कसुरको आरोपको समबन्धमा कुनै व्यक्तिउपर भएको अनुसन्धान र तहकिकातबाट निजले सो कसुर गरेको हो भन्ने विश्वास गर्नुपर्ने मनासिव कारण भएमा अनुसन्धान अधिकारीले भ्रष्टाचारसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न प्रचलित कानुनबमोजिम अधिकार प्राप्त मुद्दा हेर्ने अधिकारीसमक्ष मुद्दा दायर गर्ने व्यवस्था छ ।

सोही ऐनको दफा ३३ मा कुनै राष्ट्रसेवक दफा २८ को उपदफा १ को खण्ड (ग) दफा ३० को उपदफा (३) तथा दफा ३१ बमोजिम थुनामा रहेको भए त्यसरी थुनामा रहेको अवधि भर र निजउपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वत: निलम्बनमा रहने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम शम्भुनाथ नगरपालिकाका नगर प्रमुख गुप्तामाथि भ्रष्टाचार आरोपमा आरोपपत्र दायर हुने बित्तिकै निलम्बनमा परेका हुन् ।

प्रतिक्रिया