अन्तत: प्रदेश १ ले पायो नाम

विराटनगर । प्रदेश १ ले अन्तत: नाम पाएको छ ।

मुलुक सङ्घीय संरचनामा गएको ५ वर्षको लामो अभ्यासपछि प्रदेश १ ले नाम पाएको हो । प्रदेश सभाले दुई तिहाई बहुमतले पारित गर्दै प्रदेशको नाम ‘कोशी’ राखेको छ ।

प्रदेशले नाम पाएपछि त्यहाँका नागरिक पनि खुशी भएका छन् । अन्तत: प्रदेशले नाम पाउँदा आफ्नो प्रदेशको नामले अब चिनिने नागरिकहरूले प्रतिक्रिया दिएका छन् ।

बुधवार साँझ भएको मतदानमा कोशीको पक्षमा ८२ मत खसेको छ । सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, र राप्रपा तथा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रदेश सभा सदस्यले कोशीको पक्षमा मतदान गरेका छन् । विपक्षमा जम्मा ४ मत परेको छ । एकीकृत समाजवादीका चार सदस्यले विपक्षमा मत हारेका हुन् ।

कोशीको विपक्षमा रहेकी जनता समाजवादी पार्टीका एक्ला प्रदेश सभा सदस्य एवं मन्त्री निर्मला लिम्बुले भने मतदान गर्न पाइनन् । मतदान प्रक्रिया सुरु हुने बेला बाहिर परेकी उनी प्रदेश सभाको ढोका बन्द हुँदा रोकिएकी हुन् ।

प्रदेशको राजधानी भने पहिलो कार्यकालमै तोकिएको थियो । २३ वैशाख २०७६ मा प्रदेशसभाले स्थायी राजधानी विराटनगर तोकेको थियो । नाममा भने सहमति नै जुट्न सकेन । दलहरूबीच सहमति नजुट्दा प्रदेश सभामा प्रस्ताव नै गएन ।

अन्य ६ वटा प्रदेशले भने सङ्घीयताको पहिलो ५ वर्षमै नाम टुङ्ग्याएपनि प्रदेश १ को प्रदेश सभाले पहिलो कार्यकालमा नाम टुङ्ग्याउन सकेन ।

यसपटक भने नेकपा एमाले र नेपाली काँग्रेस मिलेपछि कोशी नाम अनुमोदन भएको छ ।

मुख्यमन्त्री हिक्मत कार्कीले नामाकरणका लागि एक महिनादेखि निरन्तर छलफल थालेका थिए । त्यसक्रममा एमाले र काँग्रेस नेताहरू कोशी नाम राख्न सहमत भए । तर, भूगोलका आधारमा नाम राख्दा आन्दोलन उठ्ने देखेर सहमतिलाई प्रदेशसभाले निर्णय गर्ने दिन मात्र सार्वजनिक गरेका थिए ।

पहिचानका आधारमा नाम राख्नुपर्ने अडानमा रहेको माओवादीले समेत कोशीकै पक्षमा मतदान गरेको छ ।

एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) ले भने प्रदेशको नाम किराँत लिम्बुवान सगरमाथा राख्ने प्रस्ताव गरेका थिए, तर प्रदेश सभाले अस्वीकृत गरेको छ ।

प्रतिक्रिया