भारतको करुणा पुग्यो माध्यमिकी परिक्रमा

जनकपुरधाम । १५ दिने मिथिला माध्यमिकी परिक्रमा भारतको करुणा पुगेको छ । शुक्रबार धनुषाको औरहीमा बिश्राम गरी आज बिहानै परिक्रमामा सहभागी श्रद्धालु भक्तजनहरु करुणा पुगेका हुन् । परिक्रमा यात्रीहरु १३ औं विश्रामस्थल करुणाबाट विशौल हुँदै जनकपुरधाम आइपुग्ने छन् ।

फागुन ८ गतेबाट सुरु भएको परिक्रमा टिमको यात्रा भारतको कल्याणेश्वर हुँदै गिरीजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै १३ औं दिन करुणा पुगेको हो । परिक्रमा यात्रीहरु करुणबाट विशौलको विश्वामित्र आश्रम हुँदै पुनः कल्याणेश्वर स्थानमा पुग्ने छन् । कल्याणेश्वरबाट प्रस्थान गरी परिक्रमा यात्रीहरु फागुन पुर्णिमाका दिन जनकपुरधाम पुगी अन्तरगृह परिक्रमा पुरा गरेर घर फर्कने गर्दछन् ।

नेपाल भारत दुवै मुलुकका धार्मिक सांस्कृतिक एवं आपसी सद्भावको प्रतिक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेका छन् । प्रत्येक विश्रामस्थलका छुट्टाछुट्टै धार्मिक एवं पौराणिक महत्व रहेको मिथिला महात्मयमा वर्णन गरिएको छ । परिक्रमामा सहभागी यात्रीहरुले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा तय गर्ने गरिन्छ ।

मिथिला महात्मयमा उल्लेख भएअनुसार वृहत, मध्यमा एवं लब्धी गरि तीन प्रकारको परिक्रमा हुन्छ । जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफनै विशेषता छ । प्राचिन समयमा सियालाल जी शरण नाम गरेका सन्तले मध्यमा परिक्रमा शुरु गरेको विश्वास गरिन्छ । मध्यमा परिक्रमा गरेपछि मनोवाञ्छित फल प्राप्त हुने विश्वास छ ।

टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भूइँ खनेर चूल्हो निर्माण गर्नु, खाना पकाउनु, भजन किर्तन लगायतका कार्यहरु गर्नु परिक्रमावासीहरुको आस्था हो ।

प्रतिक्रिया