जुनियरलाई सचिव, सिनियर जिम्मेवारीविहिन !

जनकपुरधाम । सिनियर कर्मचारी हुँदाहुदैँ मधेश प्रदेशको एक मन्त्रालयमा नियम विपरित जुनियर कर्मचारीलाई मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । महिला, बालबालिका तथा युवा खेलकुद मन्त्रालयमा वरिष्ठ कर्मचारीलाई जिम्मेवारीविहिन बनाई कनिष्ठ कर्मचारीलाई सचिवको जिम्मेवारी दिएपछि मन्त्रालयको कर्मचारी वृतमा असन्तुष्टि बढेको छ ।
केही महिना अगाडी मात्रै दशौँ तह उपसचिवमा बढुवा भएका मन्त्रालयका कर्मचारी रंजित कुमार यादवलाई सचिवको जिम्मेवारी दिइएको छ भने ४ वर्ष अगाडी नै दशौँ तह उपसचिव भएका महेन्द्र महतोलाई जिम्मेवारीविहिन बनाइएको छ । महतो ०७५ फागुन ८ मा दशौँ तह उपसचिवमा पदमा समायोजन भई प्रदेशमा खटाइएका छन् भने यादव ०७९ साउनमा मात्रै दशौँ तह उपसचिव पदमा बढुवा भएका हुन् ।
शिक्षा तालिम केन्द्र बारामा कार्यालय प्रमुखको रुपमा कार्यरत रहेका महतोको महिला, बालबालिका तथा युवा खेलकुद मन्त्रालयमा सरुवा भएपछि उनी ०७९ पुष ४ मा मन्त्रालयमा हाजिर भएका थिए । उनलाई मन्त्रालयमा योजना महाशाखाको जिम्मेवारी दिइएको भएपनि पछिल्लो तीन महिना यता जिम्मेवारीविहिन बनाइएको छ । एउटै कार्यालयमा दुईजना समान तहको कर्मचारी कार्यरत रहेको खण्डमा सिनियर कर्मचारी स्वतः कार्यालय प्रमुख हुने नियम रहेपनि यहाँ आफूलाई अपमानपूर्वक अन्यायमा पारिएको महतोले बताए ।
सचिव यादव भने थप जिम्मेवारीमा प्रदेश सभाको सचिवको रुपमा पनि कार्यरत छन् । एकै जना कर्मचारीले दुई दुई वटा कार्यालयको प्रमुखको जिम्मेवारीमा छन् भने उनी भन्दा पनि सिनियर कर्मचारीलाई जिम्मेवारीविहिन बनाई थन्काइएको छ ।
सचिव यादवले मन्त्रालयमा हाजिर पनि गरिरहेका छैनन् । मन्त्रालयमा कुनै कुनै पनि बेला आएपनि सचिव यादवको अधिकांश समय प्रदेश सभामै बित्ने गरेको छ । सचिव यादवले मन्त्रालयमा हाजिर नगरिरहेको र बिना हाजिर नै मन्त्रालयको खाताहरु सञ्चालन गरिरहेका छन् ।
सचिव यादव मुख्यमन्त्री सरोज कुमार यादवको विश्वासपात्र मानिन्छन् । मुख्यमन्त्री यादव यसअघि सभामुख हुँदा पाँच वर्ष सचिव यादव प्रदेश सभाका सचिव थिए । उनी त्यतिखेर नवौँ तहका उपसचिव थिए । त्यतिखेर पनि उनी भन्दा सिनियर कर्मचारीहरु हुँदाहुँदै सिनियरहरुलाई पाखा लगाउदै उनलाई नियम विपरित जर्बजस्ती प्रदेश सभाको सचिवको रुपमा जिम्मेवारी दिइएको नाम उल्लेख नगर्ने सर्तमा प्रदेश सभाकै कर्मचारीहरु बताउँछन् ।
यस विषयमा आफूले दुई दुई चोटी प्रमुख सचिवकोमा लिखित निवेदन नै दर्ता गराएको पनि हालसम्म कुनै सुनुवाई नभएको उपसचिव महतोले गुनासो पोखे । उनले आफू स्वतः सचिवको जिम्मेवारी पाउनुपर्ने हकदार भएको बताए । आफूलाई सचिवको जिम्मेवारी नदिइए आफू भन्दा सिनियर कर्मचारी सचिवको रुपमा मन्त्रालयमा खटाइए काम गर्न सहज वातावरण निर्माण हुने बताए ।
महतो र यादव दुबै प्रदेशका कर्मचारी हुन् । यादव यसअघि संघमा हुँदा संसद सेवाका कर्मचारी थिए । पछि प्रदेशमा समायोजन हुँदा सेवा परिवर्तन भई प्रशासन सेवामा आएका थिए । महतो संघमा हुँदा शिक्षा सेवामा थिए भने प्रदेशमा समायोजन हुँदा पनि शिक्षा सेवामै छन् । महतो यसअघि पनि विभिन्न जिल्लाको जिल्ला शिक्षा अधिकारीको भूमिका निर्वाह गरिसकेका छन् ।
एउटै सचिवले चारवटा गाडी प्रयोग गर्दै
मुख्यमन्त्री सरोज कुमार यादवका विश्वासपात्र रहेका सचिव यादवले दुईवटै कार्यालयबाट दुई दुई वटा गरि एक्लै चारवटा सवारीसाधन प्रयोग गरिरहेका छन् । सचिव यादवले मन्त्रालयबाट प्र.२ ०० १ झ ०१६९ र प्र.२ ०० १ झ ०१८४ नम्बरको क्रेटा गाडी प्रयोग गरिरहेका मन्त्रालयको अभिलेखमा देखिएको छ । त्यस्तै प्रदेश सभाबाट उनले ज १ झ ४६१ नम्बरको टेरानो तथा ज १ झ १०० नम्बरको अर्को चारपांग्रे गाडी पनि प्रयोग गरिरहेको प्रदेश सभाले जनाएको छ ।

मधेश प्रदेशमा उपसचिव भन्दा माथिल्लो तहका कर्मचारीले एकजनाले एउटा चारपांग्रे सवारी प्रयोग गर्न पाउने नियम रहेपनि एउटै सचिवले नियम कानुनलाई धजीया उडाउदै चार चारवटा चार पांग्रे सवारी प्रयोग गरिरहेका छन् ।






