काठमाडौं । खुलामञ्च खुला गर नारा लगाउँदै खुलामञ्च गेट बाहिर मिटरब्याज पीडितहरु प्रदर्शन गरिरहेको छ । तर, ११ दिनदेखि हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितलाई खुलामञ्च प्रवेशमा रोक लगाइएको छ ।
काठमाडौं महानगरीय प्रहरीले उनीहरुलाई खुलामञ्च प्रवेशमा रोक लगाएको हो ।
चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेर आएकाहरु आइतबार काठमाडौंको मातातीर्थमा बसेका थिए । पीडितहरु चन्द्रनिगाहपुर, हेटौंडा, भीमफेदी हुँदै काठमाडौं आएका हुन् ।
‘तमसुक व्यवस्था खारेज गर’, सहुलियत दरमा ऋणको व्यवस्था गर, मिटर ब्याजीलाई कारबाही गर’ लगायतका प्ले कार्ड बोकेका पीडितहरु अहिले काठमाडौंको खुलामञ्च पुगेका थिए ।
त्यहाँ पुगेका उनीहरुलाई नगर प्रहरीले प्रवेशमा रोक लगाएको छ । “हाम्रो पनि हो खुलामञ्च, हामी प्रवेश पाउनुपर्छ,” सहभागीहरुको आवाज रहेको छ ।