सर्लाहीमा फोहोर फाल्ने ठाउँमा भेटियो सवा पाँच लाख रुपैयाँ

सर्लाही । सर्लाहीमा पाँच लाखभन्दा बढी नक्कली नेपाली रुपैयाँ फेला परेको छ। जिल्लाको लालबन्दी नगरपालिका ७ दुर्गा मन्दिर नजिकै भित्री सडकखण्डको फोहोर फाल्ने ठाउँबाट प्रहरीले पाँच लाखभन्दा बढी नक्कली नेपाली रुपैयाँ फेला पारेको हो।

लालबन्दी बजारदेखि दुई किलोमिटर टाढा फोहोर फाल्ने ठाउँमा बेवारिसे अवस्थामा प्रहरीले एक हजार दरको ५ सय ३० थान नक्कली नोट बरामद भएको हो। इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तराम कार्कीको कमान्डमा गएको प्रहरी टोलीले बेवारिसे अवस्थामा उक्त परिमाणको नोट बरामद गर्नुका साथै ६ सय पिस पैसा आकारको कागज पनि बरामद गरेको छ। बरामद गरिएको नोटको नम्बर फरक फरक रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जनाए।

सर्लाहीमा नक्कली नेपाली नोट, नोट छाप्न तयार कागज तथा नक्कली नोटको कारोबार गर्ने मानिसहरु निरन्तर फेला परिरहेका छन्। गत चैत महिनामा सर्लाहीको बलरा नगरपालिका ६ गडहिया गाउँका विवेक कुर्मीको घरमा नक्कली नोट बनाउने मेसिन नै संचालन गरी नक्कली नोट बनाउने काम भइरहेको सूचना पाएर छापामारी गरेको थियो। प्रहरीले नोट छाप्ने मेसिन बरामद नगरे पनि छापामारी खानतलासी गर्दा पैसा छाप्ने कागज दुई पोका बरामद गरेको थियो। घरधनी विवेक कुर्मी फरार भएका थिए। नक्कली नोटको कारोबारमा संलग्न अन्य चार जना पनि फरार भएका थिए । फरार पाँचै जनाको खोजी प्रहरीले गरिरहेको छ।

यसअघि बलरा नपा वडा ५ अर्नाहा टोलका राम प्रसाद यादव नक्कली नेपाली रुपैया सहित पक्राउ परेका थिए। चैत महिनामै बरहथवा नगरपालिका १७ स्थित बागमती सिँचाइ आयोजनाको नहरमा दुई लाख ६८ हजार नेपाली नक्कली रुपैया सहित मधेस प्रदेश जनकपुर र इप्रका बरहथवाको संयुक्त टोलीले यादवलाई चारैतिरबाट घेरा हाली पक्राउ गरेको थियो। यादवलाई चेकजाँच गर्दा लाखौ रुपैयाँ नेपाली हजारको नक्कली नोट बरामद भएको थियो।

सर्लाही प्रहरीले राम प्रबेस राम, सुबन परियार, गोपाल खनालसहित नौ जनालाई नक्कली नेपाली रुपैया कारोबार गर्ने गरेको आरोपमा पक्राउ गरेको थियो।

प्रतिक्रिया