नवनियुक्त वन मन्त्री डा. महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री कुमारीद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा बुधवार आयोजित विशेष समारोहमा नवनियुक्त दुबै जना मन्त्रीहरूले शपथ ग्रहण गरेका हुन् ।
मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।
प्रधानमन्त्रीले मङ्गलवार जनता समाजवादी पार्टी नेपालका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।
जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षा मन्त्री छन् ।
योसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ ।
सरकारमा नेपाली काँग्रेसका एक उपप्रधानमन्त्री सहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्री सहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री रहेका छन् ।






