महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि जनकपुरका ३० वर्षीय दीपेश ढुङ्गेलको मृत्यु

महोत्तरी । महोत्तरीमा सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।
जनकपुरधाम जलेश्वर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा जनकपुरधाम उपमहानगरपालिका ९ बस्ने ३० वर्षीय मोटरसाइकल चालक दीपेश ढुङ्गेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महाेत्तरीले जनाएको छ ।
ज ८ प ६५३३ नम्बरको मोटरसाइकल मंगलबार बिहान जलेश्वर नगरपालिका ९ स्थित आगेपुरनजिक विगही पुलबाट करिब २० मिटर तल पानीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महाेत्तरीले बताएकाे छ । जलेश्वरबाट आउँदै गर्दा मोटरसाइकल दुर्घटना भएको र बिहान साढे ६ बजे मात्र स्थानीयबासिन्दाले मोटरसाइकल र शव देखेपछि जानकारी भएको महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए ।
मोटरसाइकल पुलको पश्चिमी भागमा ठोकिएर तल खसेको हुन सक्ने प्रहरीको अनुमान छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।






