महोत्तरी : सिडियो र मन्त्रीले नै बाल अधिकारको धज्जिया उडाएपछी…

जनकपुरधाम । महोत्तरी जिल्लाको लोहरपट्टि नगरपालिकाको वडा ४ मा २०७९ सालदेखि चल्दै आएको श्री गेरुकाधाम नदी सरसफाई तथा संरक्षण अभियानकाको नाममा विद्यार्थीमाथि ज्यादती भएको छ । नदी सरसफाई अभियानको नाममा विद्यार्थीले विद्यालयकै पोशाकमा नदी भित्र छिरेर जोखिम मोल्नु परेकोे हो ।
लोहरपट्टि नगरपालिका अन्तरगत रहेको श्री जनता माध्यमिक विद्यालय खुट्टा, श्री राष्ट्रिय माध्यमिक विद्यालय, पिपराढी लगायत नगरपालिका भित्रका अन्य २ विद्यालयका विद्यार्थी जोखिमपूर्ण कार्यमा प्रयोग भएका हुन् ।
६ देखि ८ कक्षाका क्रमश १२ देखि १४ वर्ष उमेर समूहका विद्यार्थीको प्रयोग भएको देखिन्छ । विद्यालयले नगरपालिकालाई सुचना प्रवाहै नगरि कुनै उपयोगीता बिनै बालबालिकालाई सरसफाईको नाममा जोखिम मोल्न पठाएको प्रत्यक्षदर्शीले नागरिक मिररलाई बताए ।
विद्यालयमा नियमित कक्षाको दौरान विद्यार्थीको पढ्न पाउने हकलाई हनन् गर्न नहुने र बालबालिकालाई जोखिमपूर्ण कार्यमा लगाउन न मिल्ने अधिवक्ता गिता चौधरी बताउँछिन् । चौधरी भन्छिन्, ‘बालबालिकाको पढ्न पाउने हक मिचेर जोखिमपूर्ण कार्य गराउनु भनेको सजायको भागेदार हुनु हो ।’ यसरी कसैले बालबालिकालाई प्रयोग गरे नेपालको संविधान २०७२ को धारा ३९ को उपदफा १० मा कानून बमोजिम दण्ड हुने व्यवस्था रहेकोसमेत अधिवक्ता चौधरीले नागरिक मिररसँगको कुराकानीमा बताइन् ।

सिडीयो र मन्त्रीकै आडमा बालअधिकार हनन्
श्री गेरुकाधाम नदी सरसफाई तथा संरक्षण अभियानको नाममा विद्यार्थीलाई जोखिमपूर्ण कार्य गर्न लगाउँदा कार्यक्रममा उपस्थित नीति कार्यान्वयनकर्ता जिल्ला प्रशासन कार्यालय महोत्तरी र धनुषाका प्रमुखद्वय दीपककामार पहाडी र काशी राज दाहाल मुकदर्शक बनेका थिए भने नीतिनिर्माता मधेश प्रदेश सरकारका बिना विभागीय मन्त्री सुरीता साह समेत बेखबर थिइन् । आफ्नै आँखा अगाडी बालबालिका नदी भित्र पसेको देख्दा समेत कसैले नरोकेको नागरिक मिररलाई प्राप्त भिडियोमा देखिन्छ ।
नदी भित्र पस्दा विद्यार्थीमा कुनैपनि सावधानीको उपाय प्रयोग गरेको देखिदैन् । न त उनीहरुसँग हातमा लगाउन ग्लभस् छ । न त खुट्टामा लगाउने बुट । खालि हात र खुट्टामा रहेका बालबालिका नदीभित्र प्रवेश पाउँदा समेत हेरिरहे जनप्रतिनिधि, अभियन्ता र प्रमुखहरु ।

यसरी १४ वर्षभन्दा मुनीका बालबालिकालाई जोखिमपूर्ण कार्यमा लगाउन नहुने बालबालिका सम्बन्धि ऐन २०७५ को धारा ७ को उपदफा (९) उल्लेख रहेको छ । बालबालिका जोखिमपूर्ण कार्यमा संलग्न गराएमा जो कोहिलाई पनि कानुन बमोजिम सजाय हुनेसमेत ऐनमा उल्लेख छ ।
त्यस्तै नेपालको संविधानको धारा ३९ को उपधारा ४ मा समेत बालबालिकालाई कुनै पनि जोखिमपूर्ण काममा लगाउन नपाईने उल्लेख रहेता पनि संविधान विपरित बालबालिका प्रयोग हुँदा सरकारका प्रतिनिधि मुकदर्शक भएको प्रत्यक्षदर्शीले बताए ।
विद्यार्थी पानीमा पस्दा मान्यजनहरु ! मुकदर्शक
अभियान अन्तरगत २१ औं हप्ताको सरसफाई कार्यक्रममा मधेश प्रदेशकी विना विभागिय मन्त्री सुरीता साह, प्रदेश संसद रामअशिष यादव, जिल्ला प्रशासन कार्यालय महोत्तरी र धनुषाका प्रमुख दिपककुमार पहाडी र काशीनाथ दाहाल, अधिकारकर्मी धिरेन्द्र कुमार, बृहत्तर जनकपुर क्षेत्र विकास समितिका अध्यक्ष शितल शाहलगायत अधिकारकर्मी तथा अभियान्ताहरु बलबालिका सरसफाईको नाममा जोखिमपूर्ण कार्यमा लाग्दा समेत टुलुटुलु हेरेर बसेको प्रत्यक्षदर्शीले बताए ।

विद्यालय अध्ययनरत विद्यार्थीलाई सरसफाईको नाममा विद्यालयबाट सरसफाई स्थल लिएर गएको विद्यार्थीले बताए । सामान्य सरसफाई भनि विद्यालयको पोशाकमै नदीमा छिर्न परेपछि उनीहरुले जोखीम मोलेर जानु परेको एक विद्यार्थीले नाम नलेख्ने शर्तमा नागरिक मिररलाई बताएका छन् ।
ती विद्यार्थीका अनुसार विद्यालयले शनिबारको दिन मन्त्री र सांसद आएको भन्दै आफुहरुलाई लिएर गएको बताए । विद्यालयले नै आफूहरुलाई जवरजस्ती सरसफाईमा जान बाध्यपारेको उनीहरुले नागरिक मिररसँग सुनाए । ‘जान मन नभएता पनि जवरजस्ती जानै पर्छ सरले भन्नुभयो।’ विद्यार्थीले गुनासो पोख्दै भने, ‘हामीलाई ड्रेसमै पानीमा पस्नुपर्छ अनि कुनै पनि सावधानी हुदैन् ।’ उनीहरुले साँप तथा किरा वा अन्य चोटपटक र घाउ लाग्यो भने कसले जिम्मेवारी लिने भन्ने समेत प्रश्न उठाएका छन् ।
यस बारेमा जिल्ला प्रशासन कार्यालयका प्रमुख काशिकान्त दाहाल त्यसो नभएको दावि गर्छन् । उनी भन्छन्, ‘बालबालिकालाई जनचेतना अभिवृद्घी गर्न सबै पक्षको भेलामा बोलाएका थियौँ । यो जोखिम कार्य होइन ।’ उनले भिडियो बारे भने केही बोल्न मानेनन् ।
यहाँ हेर्नुहाेस् ! कसरी बालबालिका जाेखिमपूर्ण कार्यमा प्रयाेग भएका थिए… (भिडियाे सहित)

त्यस्तै नगरपालिकाका उपमेयर सरिता शर्माले बालबालिका त्यसरी प्रयोग नभएको र उनीहरु नदीमा नगएको दाबी गर्छिन् । नागरिक मिररसँगको संबादमा भिडियो नै सार्वजनिक हुने बताएपछि आयोजकले त्यसो गर्लान् भन्नेमा विश्वास नलागेको बताए । शर्माले भनिन्, ‘यस बारे म बुझ्छु त्यस्तो कार्य भएको छ भने रोक्न पहल गर्छु ।’
यसरी आफ्नो बालबालिका स्कूल पोशाकमै हिलाम्मे भएर आएको देखेर अच्चमीत भएको गोपाल साहका बुबा रामेश्वर साहले बताए । ‘छोराछोरीलाई पढाउन पठाएको हौँ । घर आउँदा भिजेको र हिलाम्मे भएर आएसी मन डराउँछ ।’ उनले मलिनाे स्वरमा भने, ‘साँपले वा कुनै केही भएको भए कसलाई भन्नु ?’ उनले प्रश्न गरे ।

अभिभावकको प्रश्नलाई राष्ट्रिय मा. वि. पिपराढीका प्रधानाध्यापक युगल किशोर यादवले आफ्नोमात्र विद्यालयको बालबालिका नरहेको बताए । उनले एक एन्जीयोको अनुरोधमा पठाएको भन्दै, ‘कुनै दुर्घटना भएकोमा आफुले भन्दा पनि सबैको जिम्मेबारीमा पर्ने बताए ।’

उनी जस्तै श्री मा.वि खुट्टाका प्रधानाध्यापक फुलगेन कुमार यादवका अनुसार अनजानमा पठाउँदा गलत भएको बताएका छन् । उनले यसबारे माँफि माग्दै सो कार्य नगर्ने नगराउने समेत बताए । बालबालिकालाई अतिरिक्त क्रियाकलापमा जोड्न खोज्दा त्रुटि भएको प्रधानाध्यापकहरुको कथन छ । उनीहरुले नगरपालिका र प्रदेशको विना विभागिय मन्त्री आउने थाहा पाएपछि सहकायैमा पठाएको बताए ।
यी सबै घटनामा लोहरपट्टि नगरपालिकाका महिला तथा बालबालिका शाखाकी यसोदा कार्कीले आफु पनि त्यस कार्यक्रममा रहेर ध्यान दिन चुकेको नागरिक मिररसँग बताइन् ।
उनले यस बारेमा नगरपालिकाको फेसबुक पेजबाट माँफि माग्ने समेत बताए । उनले आगामी दिनमा यस्तो कार्य गर्न नदिने समेत नागरिक मिररसँग प्रतिबद्धता जनाइन् ।
*सरसफाईको नाममा विद्यार्थीमाथि ज्यादती : ‘स्कूल ड्रेस’मै पानीमा पस्नु परेपछि…
-यसअघिको शिर्षक परिवर्तन गरिएको छ ।
-सम्पादक






