राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित

जनकपुरधाम । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । भिसी, रजिष्ट्रार, डीन र प्रमुख नियुक्त गर्न माग गर्दै उनीहरु आन्दोलित भएका हुन् ।
आन्दोलित विद्यार्थीहरुले आज जनकपुरधामस्थित सडकमा प्रदर्शन गर्दै एक घण्टा चक्काजाम गरेका थिए । जसका कारण जनकपुरबाट छुट्ने सवारीसाधनहरुको आवतजावत गर्न ठप्प भएको थियो ।
उनीहरुले विश्वविद्यालयमा करिब १८ महिनादेखि भिसी, रजिष्ट्रार र डीनकाे पदपूर्ति गर्न आन्दोलनमा होमिएका हुन् । त्यस्तै ४ महिनादेखि क्याम्पस प्रमुख पनि नभएपछि विश्वविद्यालयको अवस्था अस्तव्यस्त भएपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । क्याम्पसमा रहेका सहायक क्याम्पस प्रमुख पनि क्याम्पसकाे अवस्था र विद्यार्थीकाे चाँपका करण दुई हप्ताअघि राजिनामा बुझाएका थिए । उनीसँग व्यवस्थापकिय कुनै भूमिकामा निर्णयगर्ने अधिकार नभएपछि विद्यार्थीकाे दवाब झेल्न नसकेर उनले राजीनामा बुझाएका थिए ।
सहायक क्याम्पस प्रमुखसमेत नरहेपछि अभिभावक बिहीन बनेका उनीहरु बाध्यभएर पढाई छाडेर सरकारलाई विश्वविद्यालयको विषयमा गम्भिर हुन आन्दोलनमा उत्रेका हुन् ।
यसअघि नै प्रधानमन्त्री, संघीय शिक्षामन्त्री, मधेस प्रदेशका मुख्यमन्त्री, धनुषाका सिडियो र जनकपुरधाम उपमहानगरपालिकाका मेयरलाई पनि विश्वविद्यालयको अवस्थाबारे सरकारलाई ज्ञापन पत्रमार्फत आवश्यक पहलकदमी लिन जानकारी गराएका हुन् । उनीहरुले यस प्रति गम्भिर नभएपछि आन्दोलन गर्न बाध्यभएको राजर्षि जनक विश्वविद्यालय संघर्ष समितिका संतोष यादवले बताएका छन् ।
उनले हाम्रो भविष्यसँग खेलवाड गर्ने कसैको अधिकार नभएको बताउँदै सरकारले हाम्रो माग समयमा पुरा नगरे सरकार विरुद्ध थप आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने चेतावनी दिएका छन् ।
करिब महिनौदेखि आन्दोलित विद्यार्थीको पठनपाठन ठप्प परेको छ भने अधिकांश विश्वविद्यालय छनौट गरेकोमा पस्चताप गरेको बताउँछन् ।









