समाचार लेखेको निहुँमा धनौजीको हाकिमले गुन्डा लगाएर पत्रकार कुटाएपछि…

जनकपुरधाम । समाचार लेखेको निहुँमा जनकपुरधामका एक पत्रकारमाथि कुटपिट भएको छ ।
पालिकामा भएको अनियमितता तथा बेथिति विरुद्ध समाचार लेखेको निहुँमा धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित यादवले आफ्ना भाइ तथा गुण्डाहरु परिचालन गरि मकालु खबरका मधेश प्रदेश ब्यूरो प्रमुख पत्रकार सिबेन्द्र रोहितालाई निर्घात कुटपीट गरेका छन् ।
२४ घण्टा प्रहरी उपस्थित रहने जनकपुरको व्यस्त बजार भानु चोकमा बा १२ च ४२४३ नम्बरको स्कारपियो गाडी लिएर आएका उनीहरूले पत्रकार रोहिता माथी आक्रमण गरेका हुन् ।
पत्रकारमाथि आक्रमण भईरहेको हेरेपछि स्थानीयहरुले प्रतिकार गर्दै लखेटेपछि उनीहरूले स्कारपियो गाडी छाडेर भागेका छन् । उक्त गाडी गाउँपालिकाले भाडामा प्रयोग गरिरहेको बुझिएको छ । गाडीमा हातहतियार सहित पत्रकार रोहिताको ज्यान मार्ने उद्देश्यले आएको स्थानीयहरुले बताएका छन् ।
आक्रमण गर्नेहरुमा अधिकृत यादवका भाइ स्वीटा भन्ने सुनिल अधिकारी, बिल्ला भन्ने सोनु कर्ण, मिठ्ठु लगायतका युवाहरुलाई आफूले चिनेको पत्रकार रोहिताले बताए ।
प्रहरीले उल्टै आक्रमणकारीहरुलाई सहयोग गरेको पत्रकार रोहिताले बताए । हतियारसहित आएका आक्रमणकारीहरुलाई पक्राउ गर्नुको सट्टा भगाउन प्रहरीले भूमिका खेलेको पत्रकार रोहिताले बताए ।
आक्रमणबाट घाइते पत्रकार रोहिताको जनकपुरधाममा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौ रेफर गरिएको छ ।








