सरकारी सेवाको करार जागिर छाडेर नमूना खेती व्यावसायमा लागेका मुकेश

कोरोना महामारीले प्रायः सबैलाई नराम्रा सम्झना मात्रै दिलाउँछ । कारण, एकाएक आएको यस महामारीले लाखौं मानिसलाई पीडा मात्रै दियो । लाखौं मानिसले आफ्ना परिवारका सदस्य गुमाए, लाखौंले रोजगारी गुमाए, विश्वकै अर्थतन्त्र तहसनहस बनायो, सम्बन्धहरू पनि कोरोना महामारीकै कारण बिग्रिए भने विश्वभरकै स्वास्थ्य अवस्थालाई पनि यसले दर्शाइदिने काम गरिदियो । यति हुँदाहुँदै पनि कतिपयलाई नयाँ आँट्ने र जीवनको पाइलालाई नयाँ तरिकाले चाल्ने शक्ति पनि कोरोना महामारीले नै दियो । तीनै मध्यका एक हुन् महोत्तरीका मुकेश कुमार राय ।
३२ वर्षका मुकेश महोत्तरीको लोहरपट्टी ७ भ्रमरपुरामा जन्मेका हुन् । ब्याच्लर इन रेडियोग्राफिसम्मको पढाइ गरेका मुकेश बुबा रामविनोद राय र आमा जनकनन्दनी रायका साईला छोरा हुन् । ४ दाजुभाई रहेका मुकेशले कोरोना महामारीकै दौरान नयाँ व्यवसायको थालनी गरे । त्यो व्यवसाय अहिले मधेशका लागि मात्रै नभई सम्भवतः नेपालकै लागि पहिलो रहेको उनको दावी छ । उनको व्यवसाय यात्राको थालनी र वर्तमान अवस्थाबारे उनको बगैचामा उनैलाई भेटेपछि…
साढे २ वर्ष अघि मैले र मेरो ठूलो दाईले मिलेर यो फार्म स्थापना गर्यौं । खासमा कोरोना महामारीको बेला दाई विदेशबाट फर्केपछि र मैले पनि कोरोनाका कारण काममा राम्रो नदेखे पछि एउटा अर्गानिक फार्म खोल्ने निष्कर्समा पुग्यौं ।
काठमाडौंमा रहँदा सिभिल अस्पतालमा म जागिरे थिए । करिब ७ वर्षजति काम पनि गरे । तर, कोरोनाको बेला सहज भएन । पछि हेटौंडामा सिटी स्क्यानको काम पनि सुरु गरे आफैले । तर, सोचे अनुसारको काम भइरहेको थिएन । अनि जब फ्रस्टेशन पनि भयो । सबै ठप्प थियो । दाई पनि खाडी मुलुकबाट फर्किसक्नु भएको थियो । काम केही थिएन । अनि के गर्ने के नगर्ने मात्रै मनमा खेलिरहन्थ्यो । एकदिन बसिरहँदा मनमा आयो, आफ्नो अर्गानिक फार्म खोल्न पाउँदा बरु सहज हुन्छ । त्यहि विचार दाई र घरमा छलफल गरेर हामीले २०७७ फागुनमा बुबा र आमाको नाममा यो फार्म दर्ता गरायौं । आरजे एग्रो फार्मले अहिले यो दर्ता छ । जुन करिब ५ विगाहा क्षेत्रफलमा फैलिएको छ ।

सुरुमा त विचार मनमा आइसकेपछि विभिन्न सामाजीक सञ्जाल, कृषि ज्ञानकेन्द्र, युट्यूब लगायत अन्य सम्बन्धित निकायबाट जानकारी लिए । सुरुमा यसलाई बागवानी ढाँचामा बनाउने सोच्यौं । फूल र तरकारी दुबैको खेती गर्ने भनेर । तर, त्यो सम्भव नभएर तरकारी र फलफूलमा केन्द्रित भयौं ।
के गर्ने ? कसरी गर्ने ? कति गर्ने ? कुन समयमा गर्ने ? लगायत विभिन्न जानकारी सङ्कलन गरिसकेपछि बल्ल काम सुरु गर्ने निष्कर्समा पुग्यौं । सजिलो थिएन । किनकी मधेश जस्तो ठाउँमा सबैले आफ्नै खेती किसानी गर्छ अनि हामीले उत्पादन गरेको सामान कसले किन्छ भन्ने चिन्ता र चुनौती पनि थियो । ती सबका बाबजुद आँट्यौं र पहिलोपटक मेवा खेती गर्यौं । तर, विडम्बना सफल भइएन ।

५ विगहा क्षेत्रफलमा फैलिएको यस फार्ममा हामीले सुरुकम पहिलो खेतीको रुपमा मेवा लगायौं । तर, त्यो सफल भएन । मेवा खेतीको लागि १ लाख लगानी गरेका थियौं । त्यो सबै डुब्यो । हाम्रो समाज त थाहै छ, एउटामा असफल भएपछि सबैले कुरा काट्न थाल्छन् । तर, अर्काको कुरा सुनेर आत्तिहाल्ने मध्येको मान्छे म थिइन छैन र दाई पनि त्यस्तो हुनुहुन्न । हालसम्म करिब ३५ लाख लगानी गरिसकेका छौं फार्ममा । पहिलो खेती असफल भएपछि मनमा अलि डर पनि भयो । तर, हिम्मत हारेनौं । मेवा खेती सफल नभएपनि २०७८ को असोजमा भेडे खुर्सानी लगायौं । र, खुसीको कुरा के भयो भन्दा भेडे खुर्सानीले ४ गुणा बढी फाइदा भयो । त्यसपछि मौसमी तरकारी लगाउन थाल्यौं । जसले राम्रै आम्दानी पनि दियो । त्यसपछि काउली लगायतका तरकारी लगायौं र आम्दानी पनि राम्रै भयो ।
तर, यसरी काम गर्न भने रमाइलो लागि रहेको थिएन । कारण, मधेशमा मौसमी तरकारी लगाउने टन्नै किसान छन् । वा भनौं हरेक घरमा किसान छन् । त्यसैले केही नयाँ र फरक गर्ने भनेर फेरि खोजीनिती गर्न थाले । के को खेती लगाउँदा नमूना भइन्छ भनेर । त्यसपछि मैले थाइ ग्वाभा अर्थात् थाई अम्बाको बारेमा अध्ययन गर्न थाले ।

अम्बा यसैपनि स्वास्थ्यका लागि फाइदाजनक फल हो । मधेशमा हुन त घरघरमा अम्बाको रुख पाइन्छ । तर, थाइ अम्बा एक त पाइँदैन र यसको खेती व्यावसायिक रुपले सम्भवतः भएको छैन । त्यसकारण मैले यसको बारेमा धेरै बुझ्ने कोशिस गरे । कहाँ पाइन्छ ? कसरी लगाइन्छ ? लगानी र आम्दानीको हिसाबकिताब सबै गरिसकेपछि अहिले यसमै केन्द्रित छु । तर, बेला बेलामा मौसमी फल पनि लगाइन्छ ।
गर्मी मौसममा विभिन्न प्रकारका मौसमी फलफूल लगाउनुका साथै अहिले पनि वयर, सिताफल, ड्रेगान फ्रुट र थाइ अम्बा लगाइएको छ ।

थाइ अम्बा नै किन भन्दा खेरी एक त मधेशको लागि नयाँ छ र अर्को नेपालमा बर्सेनि यसको आयात बढ्दो छ । नेपाली बजारलाई मात्रै पनि मैले अम्बाको माग पूरा गर्न सँके भने काइदा भइहाल्छ । विशेषगरी नेपालमा अम्बाको आयात कम गर्न र यसलाई व्यावसायीक रुपमा गर्ने उदेश्यका साथ अघि बढाउँदै छौं ।
हुन त बाराको निजगढमा पनि थाइ अम्बाको खेती छ भनेर सुनेको छु तर, त्यो व्यावसायिक हो वा होइन भन्ने यकिनका साथ भन्न सकिँदैन । नेपालमा अम्बाप्रति मानिसहरूको मोह देखेर पनि नयाँ फल दिन पाए हुन्थ्यो भन्ने लागेर पनि यसमा लागिरहेको छु ।

अहिले १८ कट्ठामा झन्डै ७ सय थाइ अम्बा लगाएका छौं । एउटा दाना मात्रै आधा किलोभन्दा धेरैको हुन्छ । एक पटक हार्भेस्टिङ्ग गरेपछि यसको उत्पादन भइरहन्छ । प्रति विरुवा १ हजार ४ सय देखि १ हजार ५ सयसम्म खर्च लागेको छ । अहिले उत्पादन सुरु भएर जनकपुरमा मात्रै सय टन जति अम्बा गइरहेको छ भने विराटनगर, इटहरीमा पनि हामीले अम्बा पठाउन थालेका छौं । त्यहाँको बजारमा पनि राम्रै माग छ हाम्रो अम्बाको । यदि मेरो काम सफल भयो भने प्रति विरुवा म ६ सयदेखि ७ सयसम्म नाफा कमाउन सक्छु । अहिले नै भने हामी नाफामा गइसकेका छैनौं ।

जनकपुरमा मात्रै एक सय टन अम्बाको माग छ । जुन हामीले पूरा गरिरहेका छौं । काठमाडौं पनि हाम्रो अम्बा पुर्याउने उदेश्य छ । समय लाग्न सक्छ । तर, त्यो पनि पूरा गर्छौ । नेपालमा पनि यसको माग बढ्दो छ । गत वर्ष मात्रै भारत, थाइल्याण्ड, युगान्डा लगायतका मुलुकबाट झन्डै ४० करोडभन्दा बढीको अम्बा नेपाल आयात भएको थियोे, भन्सार विभागको तथ्याङ्क हो । अब यसमा मैले केही मात्रै पनि पुर्ति गर्न सके भने त्यसले नेपाली अर्थतन्त्र र सरकारले फलफूलमा आत्मनिर्भर हुने भनेर लिएको लक्ष्यमा थोरै भएपनि राहत होला कि भन्ने आशा पनि छ ।
खुशीको कुरा के पनि हो भनेदेखि हामीले गरेको यस फार्ममा १० जनाले रोजगारी पनि पाएका छन् । जसले गर्दा उनीहरूको घर परिवार चलाउन थोरै भएपनि राहत पुगिरहेको छ भन्ने मलाई लाग्छ ।
युवा उमेर, आफ्नै गाउँ ठाउँमा केही गरौं भनेर लागि रहेको छु । हालसम्म कुनै पनि सहयोग सम्बन्धित निकायबाट पाएको छैनौं । थोर बहुत सहयोग पालिका वा प्रदेश सरकारबाट पाइयो भने कम से कम अम्बा मात्रै होइन अरु पनि नयाँ फलफूलको व्यावसायिक खेती गर्न सहज हुन्छ । मधेशमा पढेलेखेर अनि सरकारी अस्पतालमा करारको जागिर छाडेर यसरी खेती किसानी गर्न थाल्नु सहज त होइन । तर, मन भएपछि सबै काम सबैले गर्न सक्ने मेरो बुझाइ छ । आशा छ, म जस्तै अन्य युवा जो आफ्नै ठाउँमा केही गर्न चाहन्छन्, उनीहरूले पनि हिम्मत नहारीकन फार्मिङ्ग गर्न सक्छन् जस्तो मलाई लाग्छ ।






