आज विवाहपञ्चमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक विदा

जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने रामजानकी विवाहपञ्चमीको मुख्य दिन आज, वैवाहिक कार्यक्रम धुमधामका साथ मनाइँदै छ । मङ्सिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा रामजानकी विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ ।
सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत आज मुख्य दिन हो। आजको दिन भारतको अयोध्याबाट जन्ती आउने र राति वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ ।
त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको विश्वास गरिन्छ। त्यसैले अहिलेसम्म राम जानकीको डोलालाई स्वयम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन रहि आएको छ ।
आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रङ्गभूमि मैदान बाह्रविघामा पुगेपछि स्वयम्बर कार्यक्रम गरिन्छ।
राम मन्दिरका महन्थ रामगिरी छोरा पक्ष रामका बुबाको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताकी बुबा राजा जनकको भूमिकामा हुन्छन्।
स्वयम्बर पश्चात दुवै डोला नगरपरिक्रमा गरी जानकी मन्दिरमा पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार राम र जानकीको विवाह सुरु हुनेछ। यहाँ बनाइएको विवाह मण्डपमा मैथिली परम्परा अनुसार रातभरी रामजानकीको विवाह हुने गर्दछ।
राम र जानकीको विवाह उत्सवमा सहभागी हुन नेपालसहित भारत र अन्य मुलुकबाट पनि श्रद्धालुहरू जनकपुर पुगेका छन्।
महोत्सवको सातौं तथा अन्तिम दिन भोलि रामकलेवा अर्थात् जन्तीको विदाई गरी विधिवत रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ।
यसपटक विवाह महोत्सवको मुख्य आकर्षक अन्नले बनेको ११ हजार स्क्वायर फिटको रामजानकीको मुर्ति पनि रहेको छ।
विवाहपञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।