भाेलीदेखि एकल काटुर्न प्रदर्शनी गर्दै कार्टुनिष्ट रवि मिश्र

कार्टुनिष्ट रवि मिश्रले एकल काटुर्न प्रदर्शनी गर्ने भएका छन् । काठमाडौं नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा उनले आगामी बिहीबारदेखि ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनी गर्ने भएका हुन् ।

नयाँ पत्रिकामा कार्यरत मिश्रले सञ्चारमाध्यमबाट भइरहेको एकल संवादलाई दोहोरो बनाउन प्रदर्शनीमार्फत आउने निर्णय गरेको बताए । १७ वर्षदेखि विभिन्न अखबार तथा म्यागेजिनहरुमा करिब ३ हजार कार्टुन प्रकाशित गरिसकेका मिश्रले पहिलोपटक एकल प्रदर्शनी गर्ने भएका हुन् ।

‘पत्रपत्रिकामा प्रकाशित भएका विभिन्न काटुर्नमध्ये केही यस प्रदर्शनीमा राखिने छन्, जसलाई मैले ‘डिपेक्शन’ नाम दिएको छु,’ मिश्रले भने, ‘डिपेक्शन मैले देखेको नेपाली समाजको चित्र हो । प्रदर्शनीमा राखिने अधिकांश कार्टुनहरू विभिन्न पत्रिकामा प्रकाशित भइसकेकाछन् । तैपनि कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनीको आवश्यक हुँदोरहेछ ।’

मिश्रले कार्टुन आफ्ना लागि चित्र मात्रै नभएर विचार, भावना र हास्य व्यक्त गर्ने माध्यम रहेको बताए । ‘वास्तविकतालाई रचनात्मक तवरमा चित्रण गर्ने बिधी हो कार्टुन,’ उनले भने, ‘मेरा लागि कार्टुन समाजसँग अन्तर्क्रिया गर्ने माध्यम हो ।’

अखबारका कोलममा नअटाउने कतिपय विषय मिश्रले प्रदर्शनीमार्फत प्रस्तुत गर्दैछन् । ‘मैले अखबारका कोलममा नअटाउने कतिपय विषयलाई दर्शक समक्ष पुर्‍याउने माध्यमका रूपमा यो प्रदर्शनीलाई लिएको छु,’ मिश्रले भने, ‘यो प्रदर्शनी कार्टुनका लागि नयाँ जमिनको खोजी पनि हो । अखबारका कोलम र ग्यालरीको भित्ता भन्दा पर पनि कार्टुनलाई पुर्‍याउने रहर हो ।’

प्रतिक्रिया
    ट्याग: