अनाथालयमा सहयोग गरेर राष्ट्रिय वाणिज्य बैंक पीडारी चोक शाखाले मनाए वार्षिकोत्सव

जनकपुरधाम । राष्ट्रिय वाणिज्य बैंक पीडारी चोक शाखाले अनाथालयमा सहयोग गरेर बैंकको वार्षिकोत्सव मनाएका छन् ।
बैंकको ५९ औं स्थापना दिवसको अवसरमा जनकपुरधाम कबीर नगरस्थित रहेको सदगुरु कबीर बाल वात्सल्य आश्रममा वासिंग मेसिन र खाद्यान्न सामग्री सहयोग गरेर वार्षिकोत्सव मनाएका हुन् ।
बैंकका प्रबन्धक कृष्णदेव प्रसाद पालको अगुवाईमा र सहायक शाखा प्रबन्धक अफरोज खान र खजान्ची सुरेन्द्र बुदाथोकीको सक्रियतामा कर्मचारीहरुले अनाथालयमा सहयोग गरेर वार्षिकोत्सव मनाएका हुन् । वार्षिकोत्सव भन्दा पहिलेनै अनाथ आश्रममा पुगेर त्यहाँ तत्काल आवश्यक भएको सामग्रीहरु बैंकका कर्मचारीहरुले प्रदान गरेका छन् । उनीहरुले अनाथालयलाई ४३ हजार रुपैयाँ बराबरको सामग्रीहरु उपलब्ध गराएको हो ।
बैंकका कर्मचारीहरुले नीजि रुपमा सहयोग जुटाएर अनाथालयमा उक्त सामग्री प्रदान गरेका हुन् ।
हाम्रो समाजमा भएको यस्तो संस्थालाई हामीले सहयोग गर्नु हाम्रो जिम्मेवारी मात्रै होईन दायित्व पनि रहेको हुँदा अनाथालयमा सहयोग गरेको बैंकका सहायक शाखा प्रबन्धक खानले बताए । उनले अनावश्यक खर्च गर्ने र तडक भडक हुने खालको गतिविधीहरुमा कमि ल्याउन र समाजलाई सकरात्मक दिशातर्फ उन्मूख गराउने उद्देश्यका साथ पीडारी चोक शाखाले बैंकको ५९ औं वार्षिकोत्सव यस वर्ष फरक ढंगबाट मनाएको बताए ।
‘हाम्रो सानो सहयोगले अनाथालयमा केही मात्रामा भएपनि टेवा पुगोस् भनेर हामीले उक्त कार्य गरेका हौं’ सहायक प्रबन्धक खानले भने, ‘वार्षिकोत्सवका अवसरमा खानपीन र रमाइलोमा खर्च गर्नुको साटो सानै भए पनि सहयोग गरौं भन्ने सोच्यौं ।’
अगामी दिनमा पनि यस्ता संस्थाहरुलाई प्राथमिकतामा राखी सहयोग गर्न बैंक तत्पर रहने सहयोग हस्तान्तरण गर्दै शाखाका प्रबन्धक पालले प्रतिबद्धता गरे ।






