वडाकाे सम्पूर्ण कार्य ‘होम डेलिभरी’ सेवा मार्फत

प्यूठान। प्यूठान जिल्लाको झिम्रुक गाउँपालिका वडा नं २ बादिकोट कासीपोखराले नागरिकलाई वडा कार्यालयले नि:शुल्क ‘होम डेलिभरी’ सेवा दिन भएको छ। वडा कार्यालयबाट हुने विभिन्न सिफारिस सेवाहरुलाई ‘वडा देखि घरसम्म’ कार्यक्रम अन्तर्गत सेवा दिन लागिएको वडा अध्यक्ष कृष्ण पोख्रेलले जानकारी गराए।
‘गाउँमा आएको सिंहदरबारको सेवालाई अब जनताकै घर-घरमा पुर्याउने लक्ष्यका साथ काम गर्दैछौं।’ पोख्रेलले भने ।
वडाले जन्मेको ३५ दिनभित्रमा जन्मदर्ता, मृत्यु भएको ३५ दिन भित्रमा मृत्यु दर्ता, जन्म प्रमाणित, मृत्यु प्रमाणित, अस्थायी/ स्थायी बसोबास प्रमाणित, विपन्न नागरिक सिफारिस, जेष्ठ नागरिक भत्ता कार्ड, अपाङ्गता परिचय पत्र सिफारिस, दीर्घ रोगी सिफारिस, रातो र निलो कार्ड भएको अपाङ्गता व्यक्तिको सबै प्रकारको सिफारिस वा प्रमाणित र ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकको सबै प्रकारको सिफारिस वा प्रमाणितको काम होम डेलिभरी मार्फत सेवा दिने वडा कार्यालयले जनाएको छ।

होम डेलिभरी सेवा लिनका लागि आवश्यक कागजात वडा कार्यालयको इमेल आईडि jhimrukrm2@gmail.com वा वडा अध्यक्षको मोबाइल नं मा what’s app गर्न सकिने छ। ‘सेवा लिनका लागि आवश्यक कागजात मोबाइल नेट इन्टरनेटबाट पठाउन समस्या भएमा आफन्त छरछिमेक वा हाम्रै जनप्रतिनिधिहरु मार्फत पनि पठाउन सकिने छ।’
वडा अध्यक्ष पोख्रेलले भने, ‘काम बनेको कागजपत्र वडाका कर्मचारी तथा हामी जनप्रतिनिधिले सेवाग्राहीको घरमा पुर्याउने छौं।’ आवस्यक कागजात आएको २४ घण्टा भित्र कार्यसम्पादन गरिने उनले बताए।






