धनुषा प्रहरीको हिरासत कक्षबाट ९ जना थुनुवाहरु भेन्टिलेशन काटेर फरार, एकजना पक्राउ

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षबाट नौ जना थुनुवाहरु भेन्टिलेशन काटेर फरार भएका छन् । सोमबार बिहान थुनुवा कक्षबाट उनीहरु फरार भएका छन् । फरार मध्ये एकजना जनक चोकबाट पक्राउ परेपनि एक नाबालकसमेत ८ जना अझै फरार रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रञ्जन अवाका अनुसार थुनुवाहरुले सोमबार बिहान करिब साढे ३ बजेको समयमा थुनुवा कक्षबाट बाहिर निस्केका हुन् । थुनुवा कक्षको भेन्टिलेशन काटेर उनीहरु भागेको अवाको भनाई छ ।

थुनुवाबाट ९ जनासम्म थुनुवा एकै पटक फरार भएपछि यतिबेला धनुषा प्रहरीको सुरक्षा उपर विभिन्न टिकाटिप्पणी भईरहेको छ । यहाँबाट मात्रै होईन धनुषाको विभिन्न ईलाका प्रहरी चौकीहरुबाट पनि समय समयमा थुनुवाहरु भाग्ने गरेका छन् । यसअघि पनि धनुषाको महेन्द्रनगरबाट थुनुवा कक्ष फोडेर थुनुवाहरु फरार भएका थिए ।

नयाँ भवनको भरपर्दो पूर्वाधार र पर्याप्त संख्यामा थुनुवाको देखभाल गर्न सुरक्षाकर्मी परिचालित रहेको बेला थुनुवाहरु फरार भएपछि यतिबेला धनुषा प्रहरी गम्भिर बनेका छन् । डिएसपी अवाले यस विषयमा गम्भिर रुपमा अनुसन्धान भईरहेको बताए ।

यी हुन् थुनुवा कक्षबाट भागेका थुनुवाहरुः

अमित कुमार झा, वर्ष २५, जनकपुरधाम –२०, रुपैठा

रंजित मण्डल, वर्ष २६, विदेह नगरपालिका –७, धनुषा

रोशन कुमार मण्डल, वर्ष २४, विदेह नगरपालिका –७, धनुषा

अभाष्कर कुमार यादव, वर्ष ३३, सिरहा –१३, सिरहा

विशाल मुखिया, वर्ष २३, औरही गाउँपालिका –२, देउरी परवाहा

मनिष मण्डल, वर्ष १८, नगराईन नगरपालिका –२, धनुषा

विक्की कार्की, वर्ष २२, जनकपुरधाम –४, धनुषा

सुमित मेस्तर (नाबालक), वर्ष १७, जनकपुरधाम –१, धनुषा

प्रतिक्रिया