मेयर सुखदेवको पहलमा सुखद सुरुवात, ४५ करोडको लागतमा पिच सडक बन्दै

जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ४५ करोड रुपैयाँको लागतमा कालोपत्रे सडक निर्माण प्रक्रिया अघि बढेको छ।
पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य रघुवीर महासेठको अगुवाइ र नगर प्रमुख सुखदेव यादवको विशेष पहलमा यो कार्य अघि बढेको हो।
स्थानीय जनताको आवश्यकतालाई मध्यनजर गर्दै कालोपत्रे सडक निर्माणको प्रक्रिया अघि बढाइएको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले बताएका छन्। उनले पूर्व उपप्रधानमन्त्री महासेठको सक्रियताले यो ठुलो आयोजना सम्भव भएको दाबी गर्दै भने, “उहाँको पहलमा हाम्रो नगरपालिकामा यो महत्वाकांक्षी योजना सुरु हुन लागेको हो। हाम्रो लक्ष्य नगरपालिकालाई धुलोमुक्त बनाउने अभियानलाई साकार पार्नु हो।“
नगर प्रमुख यादवका अनुसार यस सडक निर्माणले नगरवासीहरूको जीवनस्तरमा सुधार ल्याउनुका साथै यातायात प्रणालीलाई सहज बनाउनेछ।
यो आयोजना कार्यान्वयनका लागि सरकारका अधिकारीक निकायले निर्माण कार्यका लागि प्रकृया अगाडी बढाउदै सूचना प्रकाशन गरेपछि पूर्व उपप्रधानमन्त्री महासेठले सम्बन्धित सबै सरोकारवालाहरूलाई धन्यवाद दिँदै निर्माण कार्य समयमै सम्पन्न हुनेमा विश्वास व्यक्त गरे।
स्थानीय जनताले पनि आयोजनाको निर्माण कार्य अघि बढेपछि खुशी व्यक्त गर्दै समयमा नै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेका छन्।
नालासहितको यस सडक निर्माणका लागि शहरी विकास मन्त्रालय अन्तर्गतका शहरी विकास तथा भवन निर्माण विभाग, संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामले ३० दिने बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ। प्रकाशित सूचना अनुसार क्षिरेश्वरनाथ नगरपालिका–६ स्थित सखुवा बजार, बखरी बजार, काठ बजार, जलाद नदी, रमदैयाको स्कुल हुँदै दुद्यमती चौकसम्मको सडक निर्माण तथा स्तरोन्नतीको कार्य हुनेछ।
यस आयोजनाले क्षिरेश्वरनाथ नगरपालिकाका वडा नम्बर २, ४, ५, र ६ लाई जोड्ने गरी कालोपत्रे सडक निर्माण गरिनेछ। नेपाल सरकारको शहरी विकास मन्त्रालयको बजेटमा सञ्चालित यो योजना नगरवासीहरूका लागि महत्वपूर्ण पूर्वाधार विकासको काम हुनेछ।
पूर्व उपप्रधानमन्त्री महासेठ यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनले यस क्षेत्रबाट निर्वाचित भएर पटक–पटक मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका छन्।
उनको प्रभावशाली नेतृत्वमा क्षिरेश्वरनाथ नगरपालिकामा मात्रै होइन धनुषा जिल्लामा पनि सडक, पुल तथा कुलो नहरजस्ता पूर्वाधार विकासका उल्लेखनीय कार्यहरू सम्पन्न भएका छन्।
