बलवा नगरपालिकाले कक्षा ८ का उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने

महोत्तरी । बलवा नगरपालिकाले कक्षा ८ को परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गर्ने घोषणा गरेको छ। नगरपालिकाका मेयर राम विजय महतोले परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विशेष रूपमा पुरस्कृत गर्ने घोषणा गरेका छन्।
नगरपालिकाद्वारा आयोजित नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिताको समापन समारोहमा उनले यस्तो घोषणा गरेका हुन्। उनले उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन गर्न र अरु विद्यार्थीहरूलाई पनि अध्ययनतर्फ प्रेरित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको बताए।
मेयर महतोले भने, “हामी राम्रा विद्यार्थीलाई मात्र होइन, सबैलाई पढाइ प्रति रुचि बढाउने वातावरण सिर्जना गर्न चाहेका छौं। भौतिक विकास मात्र पर्याप्त छैन, नगरको समृद्धि शिक्षाबाट पनि सुनिश्चित गर्नुपर्छ। आजका बालबालिका भोलिका कर्णधार हुन्, त्यसैले शिक्षा नै वास्तविक समृद्धिको आधार हो।”
उनले शिक्षालाई विशेष प्राथमिकतामा राखेर हामी अगाडी बढिरहेको स्पष्ट पारे ।
मेयर महतोले कक्षा ८ को परीक्षा व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिकाका शिक्षा प्रशासनलाई आवश्यक निर्देशन दिइसकेको जनाए। उनले प्रारम्भिक कक्षादेखि नै परीक्षाको माध्यमलाई प्रभावकारी बनाउने कुरामा नगरपालिकाले ध्यान दिइरहेको बताए।
मेयर महतोले प्रतियोगिताले विद्यार्थीहरूमा ज्ञान र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने भएकाले यो कार्यक्रम नगरपालिकाले वार्षिक योजनामै समावेश गरेर सञ्चालन गरेको बताए । उनले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तर दिई सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
सम्पन्न नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा जनता राष्ट्रिय माध्यमिक विद्यालय, धमौराले प्रथम स्थान हासिल गरेको छ। २१ वटा विद्यालयलाई पछि पार्दै धमौराले शीर्ष स्थान प्राप्त गरेको हो। माध्यमिक विद्यालय, बदिया द्वितीय स्थान र जनता आधारभूत विद्यालय, भल्लनी तृतीय स्थान हासिल गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख राज किशोर झाले जनाए।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
कार्यक्रममा नगर उप प्रमुख राम दुलारी देवी, स्वास्थ्य शाखा प्रमुख यमुना प्रसाद यादव, तथा शिक्षा शाखाका सह-संयोजक राम बिनय यादवको उपस्थिति रहेको थियो।