देशभर वर्षाका कारण डुबान र पहिरो : ९ जनाको मृत्यु, सैयौं घर डुबानमा
काठमाडौं । शनिवारदेखि परेको लगातारका वर्षाका कारण देशभर ९ जनाको मृत्यु भएको छ ।
वर्षाका कारण विशेषगरी सुदूरपश्चिम प्रदेश बढी प्रभावित बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार लगातारको वर्षाका कारण डोल्पा, डोटी, सुनसरी, डडेल्धुरा, जाजरकोट र बैतडीमा गरि ९ जनाको मृत्यु भएको हो । यस्तै देशभर डुबान र पहिरोका कारण ५ जना घाइते भएका छन् ।
प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले देशभर वर्षाका कारण विभिन्न नदीहरूमा पानीको सतह उच्च हुँदै गएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको बताए ।
उनले महाकाली नदी, सेती नदी लगायत अन्य नदीहरूमा पानीको बहाव उच्च भएको भन्दै सुरक्षित स्थानमा सर्न भनिएको पनि बताए ।
उनले लगातारको वर्षाका कारण झन्डै एक हजारभन्दा बढी घरहरू डुबानमा परेको पनि जानकारी दिए ।
यसैबीच, बझाङमा वर्षाका कारण २३ जना वेपत्ता भएका छन् । गयरातिदेखि परिरहेको वर्षापछि आएको पहिरोले बझाङको बसपार्क बगाएको छ भने थलारा गाउँपालिका जोखिममा परेको छ । यस्तै जयपृथ्वी नगरपालिकाका ६० घर विस्थापित भएका छन् ।
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो लगायतका विपद् व्यवस्थापनका लागि २५ करोड निकासा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्राकृतिक प्रकोप नियन्त्रणका लागि बनाइएको विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय गरिएको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन् ।