चिकित्सक सङ्घले घोषणा गरेको आन्दोलनको प्रभावः बिचल्लीमा बिरामी

काठमाडौं । नेपाल चिकित्सक सङ्घले घोषणा गरेको देशव्यापी आन्दोलनको प्रभाव अस्पतालहरूमा पर्दा बिरामीहरू बिचल्लीमा परेका छन् ।
उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै सङ्घले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् ।
देशकै जेठो वीर अस्पतालमा अहिले ‘फलोअप’का बिरामीबाहेक अरूले सेवा पाउन सकेका छन् । आकस्मिक र अत्यावश्यक सेवाबाहेकको सेवा दिन नसकिएको अस्पतालका निर्देशक डा.दिलीप शर्माले बताए । उनले भने, “सङ्घको आह्वानमा सेवा बन्द भएको हो । आंशिक सेवा मात्र दिन सकेका छौँ । आकस्मिक सेवा भने दिइरहेका छौँ । आशा छ छिट्टै निकास मिल्ला ।”
सङ्घले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आज आकस्मिकबाहेकका सेवा ठप्प पारेको हो ।
आन्दोलनरत चिकित्सकहरू हाजिरी गरेर फर्केका छन् भने अस्पताल परिसरमा बिरामीहरू बिचल्लीमा परेका छन् ।
उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।
त्यसबाट मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक सङ्घ आन्दोलनमा उत्रिएर आज आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।






