जनकपुर न्यूरो अस्पताल : जहाँ समान्य चोटपटकमा ‘अप्रेशन’ को नाममा लाखौँ असुलिन्छ

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–८ जमुनानिवास बस्ने उमेश महतोका तीन वर्षीय छोरा प्रियान्स महतो आफ्नै घरको छतबाट खसे । छतबाट खसेका उनी गम्भीर घाइते भए ।
परिवारले तत्काल प्रियान्सलाई उपचारका लगि बर्दिबासस्थित जनसेवा स्थास्थ्य केन्द्रमा पुर्यायो । त्यहाँ प्राथमिक उपचार गराएर उनलाई थप उपचारका लगि जनकपुरधामस्थित जनकपुर न्यूरो हस्पिटल रिफर गरियो । न्यूरोका चिकित्सकले प्रियान्सलाई आईसीयूमा भर्ना गरेर उपचार थाले । प्रियान्सको शरीरमा बाहिरी चोट नदेखिए पनि न्यूरो पुर्याउँदा अचेत अवस्थामा थिए ।
उनलाई आईसीयूमा राखेर उपचार गर्दै चिकित्सकले सिटी स्क्यान र एक्स–रे गर्न लगाए । रातभर चिकित्सकले उपचार गरे । त्यसको भोलिपल्ट बिहान ११ बजे सिटी स्क्यानको रिपोर्ट आयो । रिपोर्ट आएपछि चिकित्सकले प्रियान्सका अभिभावकलाई बोलाएर सी ५ र सी ७ स्पाइनलमा समस्या देखिएको बताउँदै तत्काल अप्रेशन गर्न सुझाव दिए ।
प्रियान्सको परिवारले अप्रेशन न्यूरोमै गराउने की बाहिर लैजाने छलफल गर्न थाले । अन्त्यमा उनीहरूले जनकपुरमा अप्रेशन नगराउने निष्कर्ष निकाले र काठमाडौँ जाने योजना बनाए ।
त्यसपछि न्यूरोका चिकित्सकले बाहिर लैजान त सक्नुहुन्छ तर बिरामीको शरीर हल्लिनु हुँदैन भनेर परिवारजनलाई सुझाएको प्रियान्सका बुबा उमेश महतोले बताए ।
‘हामी न्यूरोको रिपोर्टबाट पूर्ण सन्तुष्ट थिएनौँ । यहाँ अप्रेशन गराउन डर लाग्यो त्यसमा चिकित्सकले बाहिर लैजाँदा शरीर हल्लिनु हुँदैन भन्यो । त्यसपछि हामीले काठमाडौंमा रहेका आफ्ना आफन्तलाई यसबारे जानकारी गरायौँ’, महतोले भने, ‘आफन्तले काठमाडौंको नर्भिक हस्पिटलबाट हेलिकप्टरमा चिकित्सकसहितको टोली पठाउने भने । अनि न्यूरोमा भर्ना भएको करिब १६—१७ घण्टा पछि छोरालाई जनकपुरको न्यूरोबाट काठमाडौं लग्यौँ ।’
‘नर्भिकमा फेरि त्यहीँ जाँचहरू गरियो । तर, त्यहाँ त्यस्तो केही समस्या नरहेको चिकित्सकले जानकारी दिए । अप्रेशन गर्नुपर्दैन औषधिले ठीक हुन्छ भनेपछि मन हलुको भयो’, छोराको उपचारमा भोगेको पीडा सम्झिदैँ महतोले भने, ‘त्यसपछि जनकपुरकोे रिपोर्ट गलत रहेको या त पैसाकै लागि चिकित्सकले औषधिबाट निको नहुने भन्दै अप्रेशन गर्नुपर्ने भनेर आफूलाई डराएको हुनुपर्छ ।’
जनकपुर न्यूरो हस्पिटलमा १६/१७ घण्टाको उपचारमा मात्रै पौने दुई लाख रुपैयाँ खर्च भएको उनले सुनाए । ‘नर्भिकका चिकित्सकले दुई दिनमै घर लैजान भनेका थिए । तर पनि हामीले छोराको स्वास्थ्यमा राम्रोसँग सुधार भएपछि मात्रै घर फर्किने भनेर ७ दिन नर्भिकमा बसेको उनले बताए ।
उनले भने, ‘जनकपुर फर्केपछि न्यूरोको गलत रिपोर्टका कारण हेलिकप्टर भाडामा मात्रै चार लाखभन्दा बढी खर्च भएका कारण हेलिकप्टर भाडा न्यूरोले व्यहोर्नुपर्छ भनेर हस्पिटल सञ्चालक तथा चिकित्सक विजय राउतलाई क्षतिपूर्ति माग्न गएका थियौँ । तर उनले तपाईंको छोराको ज्यान जोगाएको र क्षतिपूर्ति नदिने भन्दै थर्काएर पठाए ।’
न्यूरोका सञ्चालकले थर्काएर पठाएपछि न्यायको गुहार गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको पनि पीडित महतोले बताए । ‘न्यूरोको कारण आफूलाई अनावश्यक खर्च भएको हुँदा रकम तिराउन प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिए । तर त्यहाँ कुनै सुनवाइ नै नगरी अहिलेसम्म मेरो निवेदन प्रशासनमै थन्किएको छ,’ महतोले भने, ‘न्यूरोका कारण मेरो परिवारले आर्थिक र मानसिक पीडा भोग्नुपर्यो । डाक्टरलाई हामी भगवानको दोस्रो रुपमा बुझ्छौँ । तर पैसाकै लागि गलत रिपोर्ट बनाउने र औषधिबाटै निको हुने चोटपटलाई अप्रेशन गर्नुपर्ने भनेर न्यूरो हस्पिटलले बिरामीको ज्यान र परिवारसँग खेलवाड गरिरहेको छ ।’
सडक दुर्घटनामा परी घाइते भएकाहरू न्यूरो हस्पिटल पुग्ने गर्छन् । सामान्य घाइतेदेखि गम्भीर घाइते भएकाहरू अस्पताल पुग्दा भर्ना गरिन्छ । दुनियाँमा हुने न्यूरो सम्बन्धी उपचार जनकपुरमै भइरहेको हस्पिटल सञ्चालक तथा न्यूरो सर्जन डा.विजय राउतको दाबी छ । महिनौंसम्म उपचार गर्दा पनि बिरामीको स्वास्थ्यमा सुधार नभएपनि रेफर गरिँदैन । बिरामीको स्वास्थ्यमा सुधार नदेखेपछि परिवाजनले दबाब दिन थालेपछि मात्रै रेफर गर्ने गरिन्छ ।
एक महिनाअघि सडक दुर्घटनामा परी गम्भीर घाइते भइ न्यूरोमा दुई महिनासम्म उपचार गाराएर ठीक नभएपछि बाहिर लगेर उपचार गराउने तीनजनाको मृत्यु भएको घटना यसअघि नागरिक मिररले प्रकासन गरेको थियो ।
यो पनिःबिरामीका लागि काल बन्दै जनकपुर न्युरो अस्पताल : पैसा आए उपचार, नआएमा तमसुक बनाएर रिफर
जनकपुर न्यूरोले दुर्घटनाका बिरामीलाई अप्रेशनका लागि नै पहिलो प्रथमिकता राखेको बुझिएको छ । बिना अप्रेशन ठीक हुने बिरामीलाई पनि अभिवाभकलाई त्रास देखाएर अप्रेशन गर्ने गरेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए । बिरामीको ज्यान ठूलो भएको हुँदा आफन्तले ठूलो रकम तिरेर अप्रेशन गराउने गरेको उनले बताए । प्रियान्सको केसमा भने आफन्त चनाखो भयो र उसको ज्यान र पैसा दुबै जोगिएको उनको भनाइ छ ।






