लामो समयदेखि संसदमा रहेको सङ्घीय प्रहरी अध्यादेश प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत
काठमाडौं । सङ्घीय प्रहरी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको बुधवार बैठकमा गृहमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको सङ्घीय प्रहरीसम्बन्धी अध्यादेश बहुमतबाट स्वीकृत भएको हो ।
सरकारले अघिल्लो सरकारले संसद्मा पेस गरेको सङ्घीय प्रहरी ऐनसम्बन्धी विधेयक फिर्ता लिएर अध्यादेश जारी गरेको थियो । सरकारले संसद्मा पेस गरेपछि ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन),२०७८’, प्रतिनिधिसभाबाट स्वीकृत भएको हो ।
अध्यादेशमा नेमकिपा सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गराएका थिए । उक्त प्रस्ताव बहुमतबाट अस्वीकृत भएपछि मन्त्री कार्कीले सङ्घीय प्रहरी ऐनसम्बन्धी विधेयक स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
योसँगै सरकारले ६० दिनभित्र प्रतिस्थापन विधेयक संसद्मा पेस गर्नुपर्नेछ ।
यस्तै, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’, ‘समाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ र ‘रेल्वे अध्यादेश,२०७८’ स्वीकृत भएको छ ।