मेयर यादवका ३ जना भतिजालाई नगरपालिकामा पिउनको नोकरी, घरका नोकरलाई पनि पालिकाबाटै तलब

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदीप कुमार यादवको ज्वाई पछि भतिजा काण्ड सार्वजनिक भएको छ । उनले आफ्ना ३ जना भतिजालाई नगरपालिकामा जागिर दिएर तलब दिँदै आएका छन् भने घरमा काम गर्ने कामदारको तलब पनि नगरपालिकाबाट दिँदै आएको खुलासा भएको हो ।

यो पनिः हंसपुर नगरपालिकामा नियुक्ति बदर भएका मेयर प्रदीपका ज्वाइँ यसरी भए पुन: बहाली

मेयर यादवले आफ्ना भतिजहरू राजिव यादव, अशोक यादव र रमेश यादवलाई दैनिक ज्यालादारीमा नियुक्त गरेको बुझिएको छ । जसमा राजिव पालिकाको वडा नम्बर ५ मा कार्यालय सहयोगीको नाममा तलब खाइरहेका छन् भने अशोकलाई वडा नम्बर ६ को आयुर्वेद र रमेशलाई वडा नम्बर ८ स्थित रमलगराको आयुर्वेद अस्पतालमा खटाएर तलब खाँदै आएका छन् ।

कर्मचारी अपुग भएपछि पालिकाले लोक सेवा आयोगसँग कर्मचारी माग गर्ने र लोक सेवाले कर्मचारी उपलब्ध गराउन नसकेपछि नगरपालिकाले आफैं करार कर्मचारीका लागि विज्ञापन आह्वान गर्ने कानुनी व्यवस्था रहेको छ । तत्काल त्यो सम्भव नभएपछि नगरपालिले सिमित अवधिका लागि दैनिक ज्यालादारीमा कर्मचारी राख्ने व्यवस्था छ ।

तर, मेयर यादवले तीन वर्षदेखि दैनिक ज्यालादारीका नाममा आफ्नै आफन्त र परिवारका सदस्यलाई नियुक्त गरेर राज्यको सम्पत्तिको चरम दुरुपयोग गरिरहेका छन् । दैनिक ज्यालादारी र करारका नाममा मेयर यादवले नगरपालिकालाई परिवारका सदस्यको व्यवस्थापन केन्द्र बनाएको स्थानीयको आरोप छ ।

त्यस्तै उनले आफ्नो घरको रेखदेखका लागि पनि मान्छे राखेर पालिकाबाट तलब दिँदै आएका छन् । वडा नम्बर ५ बेल्हीस्थित मेयरको घरमा काम गर्ने अन्दाजी ५० वर्षीय सन्तोषी यादवलाई नगरपालिकाबाट तलब दिइरहेको पाइएको भएको छ ।

मेयर यादव पालिकामा निर्वाचित भएसँगै सन्तोषीलाई दैनिक ज्यालादारीमा पियनको पदमा नियुक्त गरी आफ्नो घरको काम खटाउँदै आएका छन् । मेयर यादव आफ्नो परिवारसहित जनकपुर बस्न थालेपछि गाउँको घर रेखदेख गर्न सन्तोषीलाई नगरपालिकामा दैनिक ज्यालादारीमा नियुक्त गरेर घरको काममा खटाएका हुन् ।

ती कर्मचारी मेयर यादवको नजिकको मान्छे भएकाले निर्वाचित भए लगत्तै उनलाई घरको काममा राखिएको बुझिएको छ । राज्यको ढुकुटीबाट तलब भुक्तानी भएपछि कुनै पनि कर्मचारीले कार्यालयको समयमा व्यक्तिगत काम गर्न पाउँदैन । तर, सन्तोषी भने मेयरकै घरको रखेदेख गर्नुका साथै उनको खेतबारीको काम पनि गर्दै आएका छन् । उनी चौकीदारको रुपमा मेयरको घरमा २४ घण्टा खटिरहेका छन् ।

राज्यकै रकम खर्च गरेर कर्मचारीलाई घरको व्यक्तिगत काममा लगाएका मेयर यादवले सन्तोषीलाई महिनामा एक पटक नगरपालिकामा आएर रजिस्ट्ररमा महिना भरिको हाजिर लगाउन सेवा उपलब्ध गराएका छन् ।

राज्यको रुपैयाँमा आफ्नो घरको काममा लगाएर मेयरले सत्ता र शक्तिको चरम दुरुपयोग गरेको हंसपुरकी पूर्व उपप्रमुख रेणु झा बताउँछिन् । ‘हामीलाई सुरुमा पढेलेखेका व्यक्ति निर्वाचित भएर आएको छ । नगरबासीका लागि राम्रो गर्छ भन्ने लागेको थियो । तर, उनको जुन खालको गतिविधि बाहिर आएको छ, त्यसले प्रमाणित गर्छ की उनी अवसरवादी हुन्’,उनले भनिन्, ‘अहिलेका मेयर जनताका लागि भन्दा पनि आफ्नो भाई, भतिजा र ज्वाईका लागि मात्रै हुन् । जताततै आफ्नै भातिजा र ज्वाई अनि परिवारका अन्य सदस्यलाई नियुक्ति गर्दै बसिरहेका छन् ।’

दैनिक ज्यालादारीमा रहेको कर्मचारीलाई छिट्टै हटाउने तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत सर्वजित झाले बताए । ‘म हाजिर भएको ७-८ महिना भएको छ । यहाँ पहिलादेखि नै दैनिक ज्यालादारीमा कर्मचारी राखिएको छ, उनीहरूलाई हटाउनका लागि करारमा कर्मचारी भर्नाका लागि विज्ञापन अह्वान भइसकेको छ’, उनले भने, ‘कतिवटा आवेदन पनि परिसकेको छ । अब छिट्टै उनीहरूको परिक्षा गराएर भर्ना पक्रिया अगाडी बढाउँछौँ ।’

नगरपालिकामा कतिजना दैनिक ज्यालादारीमा खटिएका छन् भन्ने प्रश्नमा अधिकृत झाले त्यस विषयमा बुझ्न नगरपालिकामा निवेदन दर्ता गराउनुपर्ने बताए ।

यो पनिः

हंसपुर नगरपालिकामा नियुक्ति बदर भएका मेयर प्रदीपका ज्वाइँ यसरी भए पुन: बहाली

मेयरको मनमौजी नमानेपछि उपमेयरलाई हाकिमको धम्की-‘साइन गर, नभए सबै सेवासुविधा रोकिदिन्छु’

‘सम्धी’ को थोथ्रो गाडीमा हंसपुरका मेयर प्रदिपको मोह: हाकिमले रद्द गरे पनि पटक–पटक सम्झौता

हंसपुरका मेयर प्रदिपले आफ्नो थोथ्रो गाडी पालिकालाई भाडामा दिएर मासिक ८० हजार असुल्दै

प्रतिक्रिया