जनकपुरमा पनि ‘डान्सबार’, प्रहरीको कानै छेउमा रातभर ‘छमछम’

जनकपुरधाम। धर्मिक नगरीको रुपमा चिनिने जनकपुरधाममा डान्सबार र मसाज सेन्टर सञ्चालनमा रहेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियास्थित वडा प्रहरी कार्यालयबाट करिब १५० मिटर दक्षिणमा ‘केटिएम ब्लयाक ह्वाइट डान्सबार’ सञ्चालन भइरहेको छ ।
हिन्दूहरूको धार्मिक आस्थाको केन्द्र जानकी माताको जन्मभूमी जनकपुरधाममा मांस मदिरा निषेध हुनुपर्ने आवाज उठिरहेको बेला डान्सबार सञ्चालनमा आएको हो । डान्सबारसँगै ह्वाइट रोज स्पा अर्थात मसाज सेन्टर पनि सञ्चालनमा रहेको छ ।
जनकपुरधाममा योसँगै दुईवटा मसाज सेन्टर र एउटा डान्सबार सञ्चालनमा रहेको छ । यी डान्सबार रातभर सञ्चालन हुने गरेको स्थानीयको भनाइ छ । जनकपुर ढल्केवर सडक खण्डको बीच बस्तीमै डान्सबार सञ्चालन भइरहेको ती डान्सबार र स्पा सेन्टर भारतको बिहार लक्षित ग्राहकका लागि रहेको बुझिन्छ । बिहारमा मदिरा प्रतिबन्ध छ । तर, सीमापारीका मानिसहरू रक्सी पिउनका लागि र डान्सबार हेर्नका लागि जनकपुर आउने गरेको देखिन्छ ।
राति रंगिन हुने ब्लयाक एण्ड ह्वाइट डान्सबार दरबारको द्वार दिउँसो बन्द र सुनसान देखिन्छ। अवेर रातिसम्म डान्सबार बाहिर बिहारी नम्बर प्लेट भएका गाडीहरू देख्न सकिन्छ । तर नजिकै रहेको प्रहरी भने मुकदर्शक बनेर बसेको छ ।
मधेशका मुख्यमन्त्री, पर्यटन मन्त्री र स्थानीय सरकार जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामलाई धार्मिक नगरीको रुपमा विकास गर्न एकातिर प्रचारप्रसार गरिरहेका छन् भने अर्कोतिर यस्ता उच्छृङ्खल गतिविधि गर्ने व्यवसायहरू सञ्चालनमा छन् ।

यसैगरी पवित्र नाम मिथिलाकै नामले नामाकरण गरिएको जनकपुरधामको मुख्यद्वारमा रहेको मिथिला नगरपालिकास्थित ढल्केवरमा पनि करिब आधा दर्जन डान्सबार चलिरहेको थियो । जसमा डान्सबारको नाममा गलत क्रियाकलाप भइरहेको बुझिएको थियो । समाजमा त्यसले गलत प्रभाव पारिरहेको भन्दै स्थानीयहरू आक्रोशित बनेका थिए । स्थानीयको विरोध पछि गत साता मात्रै नगरपालिकाले पालिका भित्र सञ्चालनमा रहेका सबै डान्सबार बन्द गर्न निर्देशन दिँदै सूचना प्रकाशित गरेको थियो ।
यस्ता गतिविधि गर्ने व्यवसाय स्थानीय प्रशासनकै मिलोमतो र अनुमतिले सञ्चालन हुने गरेको बुझिएको छ । साना तथा घरेलु उद्योग कार्यालय, नगरपालिका, जिल्ला प्रशासनको पत्रसहितको आधिकारिक अनुमतिका साथ ती डान्सबार र स्पा सेन्टर सञ्चालनमा आउने गरेको छ । डान्सबार र स्पा सेन्टरको नाममा भित्र यौन क्रियाकलापका कामहरू पनि हुने गरेको स्थानीयको आरोप छ ।
ढल्केवरमा गत साता स्थानीयले डान्सबारमा तोडफोड समेत गरेका थिए । त्यसपछि नगरपालिकाले बन्द गराएपछि डान्सबारका सञ्चालकले डान्सबार चलाउन पर्छ भन्दै अदालत जाने तयारीमा छन् । निजी वकिलमार्फत उनीहरूले डान्सबारमा युवती नचाउन पाउनुपर्छ भनेर मुद्दा हाल्ने तयारी गरिरहेका छन् ।
यो पनिः ढल्केवरका डान्सबार बन्द गर्न किन निकाल्यो मिथिला नगरपालिकाले सूचना, यतिका वर्ष किन थिए मौन!
सञ्चालित ती डान्सबारमा कानूनले रोक लगाएका १८ वर्ष मुनिका बालबालिकालाई पनि प्रयोग गरिरहेका छन् । प्रशासनले आधिकारिक पुष्टि नगरेपनि केही दिन अगाडी ती डान्सबारबाट केही बालिकाहरूलाई उद्धार समेत गरिएको थियो ।
जनकपुरधाम भन्दा करिब २१ किलोमिटर उत्तरमा रहेको ढल्केवरमा डान्सबार बन्द भएपछि अब जनकपुरधाममा सञ्चालनमा रहेका डान्सबारबारे के हुन्छ भन्नेमा सबैको जिज्ञासा छ ।
मुजेलिया लगायतका स्थानमा सञ्चालनमा रहेका डान्सबारमा गलत क्रियाकलाप भइरहेको गुनासो आएको खण्डमा भने जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
उनले भने, ‘डान्सबार सञ्चालनका लागि हामीले कुनै अनुमति दिने गरेका छैनौँ । डान्सबार सञ्चालन गर्नै पाइँदैन । यदि कसैले डान्सबार सञ्चालन गरेको छ र त्यहाँ गलत क्रियाकलाप भइरहेको छ भने गुनासोको आधारमा हामी कारबाही गर्छौ ।’
डान्सबार र मसाज सेन्टरमा काठमाडौं, धरान लगायतका ठाउँहरूबाट युवतिहरूलाई काममा लगाइएको बुझिएको छ । यसैवर्ष केही दिनका अन्तरालमा मधेश प्रदेशको विभिन्न ठाउँहरू वीरगञ्ज, बर्दिबास, जनकपुरधाम, लहान, सिरहा लगायतका स्थानहरूमा धमाधम मजास सेन्टर तथा डान्सबारहरू सञ्चालनमा आएका छन् । जसप्रति कसैको पनि ध्यान गएको छैन ।
यता बार संचालनको विषयमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले फोन उठाएनन् भने मुख्यमन्त्री सतिशकुमार सिंहसँग सम्पर्क हुन सकेन्।

त्यस्तो डान्सबार कुन प्रक्रिया पूरा गरेर जनकपुरधाममा सञ्चालन भइरहेको भन्ने बुझ्न खोज्दा दिउँसो बन्द भेटिएको छ । साथै, भवनमा झुण्ड्याइएको फ्लेक्स बारको बोर्डमा उल्लेख गरिएको सम्पर्क नम्बरसमेत कालो मसीले पोतिएको देखिएको छ।






