तनहुँको बन्दीपुरमा जीप दुर्घटना, ९ महिने शिशुसहित ६ जनाको मृत्यु

काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा परि ४ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने ९ महिने शिशु, सोही ठाउँ बस्ने २४ वर्षका रोशन गुरुङ, ५३ वर्षका हरिबहादुर न्यौपाने, ४८ वर्षका सुशीलादेवी न्यौपाने, ७६ वर्षका विममाया गुरुङ र ४३ वर्षका सुकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।

दुर्घटनामा परी सोही ठाउँका २१ वर्षका जमुना थापा, ४८ वर्षका मम्कुली थापा, २२ वर्षका कुमारी गुरुङ, १६ वर्षका समिसा थापा र सात महिने बालिका विविशा थापा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको बन्दीपुर अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
नागरिक मिरर