जेनजी आन्दोलन सहि कि गलत? वादविवादमा अर्चना मुखिया प्रथम

जनकपुरधाम। धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा हाजिरी जवाफ तथा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।

आउँदो पुस १२ गते शनिबार हुने हिमालय युवा क्लब नक्टाझिज, मिथिला नगरपालिका–२ को ३१औँ वार्षिक साधारणसभाको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन क्लबको प्राङ्गणमा यी प्रतियोगिताहरू आयोजना गरिएको क्लबका सचिव महादेव सिंहले जानकारी दिए।

हाजिरी जवाफ प्रतियोगितामा न्यू होराइजन इंग्लिस बोर्डिङ स्कुल बेगण्डावरका प्रज्ञान सिंह, सुरज यादव र प्रतिष्ठा सिंहको समूह प्रथम भयो। महेन्द्र माध्यमिक विद्यालय ढल्केवरका बुधन कुमार यादव, यथार्थ दमाई र मनिषा कुमारी महतोले दोस्रो स्थान प्राप्त गरे भने गंगोत्री इंग्लिस बोर्डिङ स्कुल महेन्द्रनगरका विश्वनाथ यादव, रोशनी यादव र दिपेश महतोको समूह तेस्रो स्थानमा रह्यो।

त्यसैगरी सान्त्वना तर्फ नव दुर्गा इंग्लिस बोर्डिङ स्कुलका नेहा कुमारी महतो, पप्पु कुमार महतो र रुपेश कुमार महतो रहेका छन्।

हालै भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलन र त्यसले पारेको प्रभावलाई केन्द्रमा राख्दै “जेनजी आन्दोलन सहि कि गलत ?” भन्ने शीर्षकमा वादविवाद प्रतियोगिता समेत आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा सार्वजनिक नमुना विद्यालय बेगण्डावरकी अर्चना मुखिया प्रथम हुन सफल भइन्। दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडेमी महेन्द्रनगरकी कृषा यादव दोस्रो र महेन्द्र माध्यमिक विद्यालय ढल्केवरकी सरस्वती कुमारी महतो तेस्रो स्थानमा रहिन्। सान्त्वना तर्फ महेन्द्र माध्यमिक विद्यालय ढल्केवरकै आर्यन परियार चयन भएका छन्।

हिमालय युवा क्लबले प्रत्येक वर्ष वार्षिक साधारणसभाको अवसरमा सप्ताहव्यापी कार्यक्रमहरू गर्दै आएको छ। यसअघि पहिलो दिन छात्र–छात्रा दौड, साइकल स्लो र मोटरसाइकल स्लो प्रतियोगिता सम्पन्न भएका थिए।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत तेस्रो दिन बुधबार हिमालय युवा क्लबको खेलमैदान तथा विश्वकर्मा चौकमा वृक्षारोपण कार्यक्रम आयोजना गरिने क्लबले जनाएको छ।

प्रतिक्रिया