नेपाल खेलकुद महासंघको मधेश प्रदेश कमिटीको अध्यक्षमा चौधरी

जनकपुरधाम । नेपाल खेलकुद महासङ्घ मधेस प्रदेश कमिटीको प्रथम अधिवेशनबाट कमल चौधरीको नेतृत्वमा ४३ सदस्यीय कमिटी चयन भएको छ ।

अधिवेशनले दिपक तिवारी र अभिलासा पन्तलाई उपाध्यक्ष, फाल्गुन मगरलाई सचिव, राजिव यादवलाई सहसचिव तथा अवधेश कुमार पटेललाई कोषाध्यक्षमा चयन गरेको छ ।

शुक्रवार धनुषाको महेन्द्रनगरमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा महासङ्घका ईञ्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा महासङ्घको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

महासङ्घको ३ वर्षे कार्यकालको लागि चयन गरिएको समितिका पदाधिकारीहरूलाई महासङ्घका पूर्वअध्यक्ष रमेश पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका थिए ।

अधिवेशनको प्रमुख अतिथि बास्कोटाले अगामी स्थानीय निर्वाचनमा एमालेले आफ्नो घोषणापत्रमा एक वडा एक खेल पूर्वाधार तथा एक पालिका एक रङ्गशाला निर्माणको संकल्प उल्लेख गर्ने बताए ।

उनले महासङ्घका नव गठित पदाधिकारीहरूलाई खेलक्षेत्र तथा खेलाडीलाई राष्ट्रिय पहिचानको रुपमा स्थापित गराउनेतर्फ ध्यान केन्द्रीत गर्न सुझाव दिए ।

त्यस्तै महासङ्घको मधेश प्रदेशका नवनिर्वाचित अध्यक्ष चौधरीले आफू ३२ वर्ष खेलाडी तथा प्रशिक्षक भएर निर्वाह गरेको सबै अनुभवलाई खेलाडी माझ प्रस्तुत गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

विगतका दिनमा खेलाडी तथा प्रशिक्षक भएर मैले भोगेको पिडा अबको खेलाडीलाई नहोस् यसको निम्ति अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष चौधरीले उचाई र तौल अनुसार विभिन्न खेलका लागि सोही अनुसारको खेलाडी वडास्तरबाटै उत्पादन गर्ने बताए । खेलकुदले सबै जनतालाई एकैसाथ खुसी प्रदान गर्नसक्ने महत्वपूर्ण कडीको रुपमा रहेकोले खेलकुद क्षेत्रको विकासले मात्रै समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पुरा हुन सक्ने भएको हुँदा यसको लागि पनि अबको दिनमा खट्ने उनको भनाई छ । यसको लागि युवा तथा खेलाडीलाई पनि जिम्मेवार बन्न अध्यक्ष चौधरीले आग्रह गरे ।

उनले मुलुकलाई खेलाडीले खेलका माध्यमबाट देशलाई विश्वभर चिनाउने भएको हुँदा इमानदारीका साथ लाग्नुपर्ने बताए ।

कार्यक्रममा महासङ्घका केन्द्रिय संयोजक कृष्ण बस्नेत, नेकपाका क्षीरेश्वरनाथ नगरपालिकाका नगर उपाध्यक्ष अनिल चौधरी लगायतका व्यक्तिहरूको उपस्थिती रहेको थियो

प्रतिक्रिया
नागरिक मिरर