उपमेयर झा भन्छिन्,-‘पार्टीले महिला नेतृलाई मेयर पत्याउन किन सकस ?’

जनकपुरधाम । स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनताको घरदैलो अभियानमा नेता तथा कार्यकर्ताहरू निरन्तर दौडधुपमा छन् । यसपटकको निर्वाचनमा स्थानीय तहका उपमेयरहरूको ठूलो आकाङ्क्षा भनेको मेयर पदका लागि देखिन्छ । प्रायः सबै दलमा हालका उपमेयर मेयरका लागि टिकट पाउने लविङमा व्यस्त छन् । तर, हंसपुर नगरपालिकाको हकमा भने फरक दृश्य देखिँदै छ ।

२०७४ मा हंसपुर नगरपालिकामा निर्वाचित उपमेयर रेणु झाले भने यसपटकलाई मेयरको टिकट नदिएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेकी छिन् । तत्कालिन राजपाबाट उपमेयरमा निर्वाचित झाले मन दुखाउँदै पार्टी परित्याग गरेकी हुन् ।

स्थानीय तहमा मेयरको दावेदारी दिने कुरामा पार्टीले आफूमाथि अन्याय गरेको बताउँदै उनले पार्टीको साथ छाडेकी हुन् । उनले नागरिक मिररसँग भनिन्, ‘मैले मेयरमा लड्छु भन्दा भन्दैपनि, अरुलाई टिकट दिने कुरा थाहाँ पाएपछि पार्टीमा बस्ने कुरा आएन । मेरो सहभागिता र कर्मको अवमूल्यन पार्टीले गर्दा म अपमान सहेर बस्ने कुरा आउँदैन ।’

पहिलो स्थानीय तहको निर्वाचनमा मेयरको लागि नै उम्मेदवारी दिएकोमा पार्टीले उपमेयर भनेपछि आफू चुप बसेको उनको भनाइ छ । ‘पहिलो चुनाव हो जित्नु पर्छ भनेर चुपचाप बसे । तर, मेयरको उम्मेदवारी जालझेल तरिकाले गरेपछि मैले प्रतिवाद भने गरेको थिए ।’ उनले सुनाइन् ।

‘तत्कालिन राजपामा मेयरको लागि नै फारम भरेको थिए । तर दिएनन्, चित्त बुझाए ।, उनले सम्झिदै भनिन्, ‘तर कहिल्यै आन्दोलनमा नदेखिने, कहिल्यै पार्टीमा नदेखिने मान्छेले कसरी टिकट पायो ? खैर जनताले त्यसको मूल्याङ्कन गर्नेछ ।’

मेयर रामज्ञान मण्डलको टिकट नै धाँधलीपूर्ण रहेको आरोप उपमेयर झा लगाउँछिन् । तत्कालिन राजपाका देव किसन मण्डलको नाममा असली टिकट रहेकोमा रामज्ञानलाई फोटोकापी टिकटबाट धाँधलि गरेको उनले बताइन् ।

यता टिकटको लागि पार्टी परित्याग गरेकी झालाई चौतर्फी अफर आइरहेको बुझिएको छ । उनी भन्छिन, ‘काँग्रेसले हात नै समातेर लग्ने भन्दै छ । नेकपा एस र माओवादी पनि एकटक्क छन् । एमालेमा आफ्नै नजिकको दिदि भएकोले प्रस्ताव आएको छ ।’ उनले यस बारेको ठोस निर्णय कठिन भएपनि परिवार तथा अग्रजसँगको सल्लाह लिने बताइन् । उनले भनिन, ‘सहज त छैन, कि स्वतन्त्र उठ्छु, की पार्टीमा गए मेयरको टिकट माग्छु ।’

गत साढे ४ वर्षमा मात्रै पनि संस्थापन पक्षले पटकपटक विवाद र तालाबन्दिको सिकारमा परेको छ । यता सत्ताको रस्साकस्सीमा भने स्थानीयको काम काज नै प्रभावित भएको देखिन्छ । स्थानीय बलिराम कापडी भन्छन्, ‘यहाँको स्थानीय सरकारको काम छैन । जनतालाई सास्ति मात्र भएको छ ।’

जनताको दुःखमा मलम लगाउन पर्ने सरकार आफ्नो दाउको लागि घाउँ देखाउँदै हिँडेको कापडीले बताए । उनले फागुन १३ गते स्थानीयले नै दुईदिन देखी लगाएको ताला खोलेको बताए ।

उनले भने, ‘प्रशासनिक काममा भ्रष्टाचार लुकाउन कहिले अधिकृत सरुवा गर्ने गरेको छ । कहिले प्रशासनमा नै विवाद गराउने गरेको छ ।’ विवादै विवाद बिच नगरपालिकाको कामबाट प्रताडित परेका बेचन कुमार मण्डलले बताए ।

‘घरके काज–पत्र बनाबकेलेल गेलछलि नै भेलै । हे.. दु दिन लगादेलक, उनले स्थानीय भाषामा भने ।’ सधैको विवाद र तालाबन्दीले प्रशासनिक काममा समस्या परेको स्थानीय बताउँछन् । जनप्रतिनिधिको अर्कमण्यताले नै दुई धारमा रहेको नगरपालिकाले पछिल्लो समय १३ फागुनमा पाँच बुधे सहमतिपछि नगरपालिकामा ताल्चा खुलेको थियो । जसमा मेयर रामज्ञान मण्डलले नगरपालिकाको कार्यालयको आधिकारीक कर्मचारीको चिठ्ठी उपलब्ध गराउनेदेखि नगरपालिकाको विवादमा पुनः नफस्ने प्रतिबद्धता जनाएको स्नथानीय कापडीले बताए ।

सहमतिमा मेयर मण्डलले नगरपालिकाको पहिलो वर्षदेखि चौथो वर्षसम्मको सम्पूर्ण आय व्यय सार्वजनिक गर्ने, चालु आर्थिक वर्षको नगरसभाबाट स्वीकृत योजनाहरू प्रमाणित प्रतिलिपी उपलब्ध गराउने, हालसम्म गाडीको विवरण र अवस्था तथा सात दिन भित्र गाडीहरू बुझबुझारथ गरिनुपर्ने सहितका बुँदाहरूमा हस्ताक्षर गरेका थिए ।

तर, यस्ता सयौं सहमति गरेका मेयरले ‘मै राजा हुँ मेरोमात्र चल्छ कसैको यता चल्दैन’ जस्ता शब्दै प्रयोग गर्ने गरेको उपमेयर झाले बताइन् । आफ्नो क्षेत्राधिकार भित्र रहेको न्यायीक समितिको लागि इजलास बनाउछु भन्दा पनि मेयरको हस्तक्षेप रहेको दुःखेसो गरिन् ।

यस विषयमा मेयर मण्डलले आफूलाई नै असहज बनाएको तथा आफूमाथि सड्यन्त्र बुनेको बताएका छन् । उनले नागरिक मिररसँग भन्छन, ‘मेरो कार्यकाल निकै राम्रो भएको छ । मैले राम्रो काम गरेकोले मलाई विवादीत बनाउन खोजेको हो ।’

मेयरको दावेदारीदेखि अन्य लगाएको आरोप झुठो रहेको मेयर मण्डलले बताए । यता उपमेयरलाई कामकाज गर्न नदिएको विषयमा असत्य रहेको मण्डल बताउँछन् । उनी नागरिक मिररसँग भन्छन्, ‘यदि त्यस्तो भए जनताले मलाई हराईदिने छन् । हेरौँ ।’

प्रतिक्रिया
दिवाकर उप्रेती