गोरखा भूकम्पको सात वर्ष पूरा
काठमाडौं । आज वैशाख १२ गोरखा भूकम्पको सात वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११: ५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
उक्त भूकम्पले ८ हजार ९ सय ७९ जनाको निधन भएको थियो भने २२ हजार ३ सय ९ घाइते भएका थिए ।
भूकम्पले करिब १० लाख निजी आवास, ७ हजार ५ सय ५३ विद्यालय, ४९ हजार ६ सय ८१ कक्षाकोठा, ५ सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६ सय ५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो ।
यसैगरी ४ सय १५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १ सय ७० सम्पदासहित ९ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३ सय ८३ भवनमा क्षति पुगेको थियो । ३ हजार २ सय १२ खानेपानी संरचना, ५३ सडक र २ सय ९९ मानव बस्तीमा क्षति पुगेको तथ्यांक प्राधिकरणसँग छ ।
गोरखा भूकम्पले ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो । यसैगरी संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।
सात वर्षअघिको भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न २०७२ पुसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना भएको थियो ।
विसं १९९० माघ २ गतेको भूकम्पको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको थियो ।