विचारको राजनीति लत्याउँदै कुतर्कतिर ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्ना विपक्षी पार्टीलाई गालीगलौज गर्नबाट कहिल्यै पछि पर्दैनन् । मौकाको तलासमा रहने ओलीले आफ्ना हरेक भाषणमा विपक्षीलाई गाली नगरी बस्दै सक्दैनन् । यो भन्नुको तात्पर्य के मात्रै भने उनका पछिल्ला भाषणहरूमा यस्तै प्रवृति देखिएको छ ।

यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले सार्वजनिक गरेको सङ्कल्प पत्रलाई लिएर पनि ओलीले टिप्पणी गरेका छन् । जुन टिप्पणी अहिले जताततै चर्चाको विषय बनेको छ ।

काँग्रेसको सङ्कल्प पत्रलाई लिए अध्यक्ष ओलीले ‘गालिगलौजको पुराण’ भन्दै टिप्पणी गरेका छन् । मङ्गलवार एक कार्यक्रममा ओलीले बोल्दै काँग्रेसको चुनावी घोषणापत्र हावादारी रहेको बताए ।

सम्बोधनको क्रममा ओलीले आफ्ना कार्यकर्तालाई काँग्रेसको घोषणापत्र एकपटक पढ्न पनि सुझाए । एमालेको घोषणापत्रबाट चिट चोर्न खोजेको जस्तै चोर्न खोजेको अभिव्यक्ति दिएका ओलीमाथि त्यसपछि सामाजिक सञ्जालमा कठोर टिप्पणी सुरु भएका छन् ।

यस्ता अभिव्यक्ति ओलीको पहिलो भने होइन । उनले राम ठोरीमा जन्मेकोदेखि सदनमै बेसार पानीसम्मको ज्ञान दिइसकेका छन् । त्यस्तै उनले ग्राभिटेस्नल फोर्स न्यूटनले पत्ता लगाउनु भन्दा अगाडि नै पत्ता लागेको भन्दै पनि भ्रामक ज्ञान बाट्न भ्याइसकेका छन् ।

उनको यस्तो ज्ञान र सृजनालाई लिएर बौद्धिक वर्ग, प्रतिद्वन्द्वि र सामान्य नागरिकले पनि उनको आचरणदेखि उनको भ्रमबारेको टिप्पणीले सामाजिक सञ्जाल तातिने गर्छ । काँग्रेसको घोषणापत्रमाथिको ओलीको टिप्पणी त्यसैमध्येको एक परिणाम हो ।

सामाजिक सञ्जालमा ओलीको आलोचना

ओलीले काँग्रेसको घोषणापत्रमाथिको टिप्पण गरे लगत्तै काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले जमिनमा टेकेर गर्न सकिने काम मात्र काँग्रेसले उल्लेख गरेको लेखे । शर्माले आफ्नो ट्वीटरह्याण्डलमा लेखे, ‘मङ्गल ग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउने ओलीको जस्तो गफको पुलिन्दा काँग्रेसलाई आउँदैन ।’

ओलीको टिप्पणीलाई लिएर काँग्रेस महामन्त्री गगन कुमार थापाले आज भने पत्रकार सम्मेलनको आयोजना गर्न लागेका छन् ।

अर्का तिर सामाजिक सञ्जालमा ओली पवृतिलाई लिएर सर्वसाधारण नागरिकले पनि आलोचना गरिरहेका छन् । सामाजिक सञ्जालमा सोनु झा लेख्छन्, ‘सरकार चलाएकाको नैतिक स्तर कति छ भन्ने कुरा उनको बोलाईबाटै थाहाँ हुन्छ । वैचारीक गफ सकिएपछि तुक्ष गफ त दिने हो नि ?’

विचार सकिएपछिको कुतर्क

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको अभिव्यक्तिलाई विश्लेषक रोशन जनकपुरीले वैचारिक अन्त्यको सङ्केत बताएका छन । पूर्व प्रधानमन्त्री र देशको ठुलो दलको अध्यक्षले अनैतिक र अपाच्य अभिव्यक्ति दिँदा जनतामा नकारात्मक सन्देश प्रवाह हुने उनको भनाइ छ ।

उनले भने, ‘सैद्धान्तिक छलफल गर्ने, विचार र कार्यक्रमको समिक्षा गर्नु पर्नेले अपाच्य अभिव्यक्ति दिँदा राजनीतिक माहोल खल्बलिन्छ ।’ उनले ओलीको कुरालाई नेपाली समाजले पत्याउन छोडेको समेत बताए ।

‘सुसंस्कृत समाजका लागि घोषणापत्र तयार गरेको दाबीगर्ने एमालेकै अध्यक्षको कुतर्कले समाज कता हिँडाउन खोजेको प्रष्ट देखिन्छ ।’

‘सुसंस्कृत समाजका लागि घोषणापत्र तयार गरेको दाबीगर्ने एमालेकै अध्यक्षको कुतर्कले समाज कता हिँडाउन खोजेको प्रष्ट देखिन्छ’, जनकपुरीले थपे ।

हुन पनि हो, देशको पूर्वप्रधानमन्त्री, देशकै ठूलो दलको अध्यक्षले बोलीमा लगाम नलगाए त्यसले उनीप्रति सम्मान राख्ने, उनलाई आदर्श राख्नेले के सोच बनाउँछन् ? अनि ओली बा इज द बेस्ट भनेर नारा लगाउने उनका आसेपासे र कार्यकर्ताले कति दिन अज्ञानताको बाटोमा गलतलाई सहि भन्दै हिँड्छन् भन्ने पनि हेर्न बाँकी नै छ ।

प्रतिक्रिया
नागरिक मिरर