आयोगले आज र भोलि मतदाता शिक्षासँगै परिचयपत्र दिने

काठमाडौं । निर्वाचन आयोगले वैशाख २८ (आज) र २९ (भोलि) गते मतदाता शिक्षा दिने भएको छ ।

निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउने छ । टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ ।

त्यस्तै आयोगले आज र भोलि नै मतदाता परिचयपत्र बाँडने भएको छ । वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने मतदानमा उमेर पुगेका बालिगलाई मतदानको अधिकार सुनिश्चित गर्न आज र भोलि मतदाता परिचयपत्र बाँडने भएको हो ।

यही वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदानमा भाग लिन पाउने छन् ।

मतदान गर्न मतदाताले अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था छ । अघिल्लो निर्वाचनमा वितरण भएको मतदाता परिचयपत्रबाटै मतदान गर्न पाइने आयोगले जनाएको छ ।

प्रतिक्रिया