बर्दिबास ८ को छुटेको मतपेटिका गन्दा दुईजना उम्मेदवारको मत बराबर, गोलाप्रथामा पनि समसेरनै बने विजेता

जनकपुरधाम । महोत्तरीको वर्दिवासमा विजयी घोषणा भएको ३ दिनपछि भेटिएको मतपेटिकाको मत गणना गर्दा दुई प्रतिस्पर्धी बीच बराबर मत आएपछि गोलाप्रथा गर्दा पहिले विजयी भएका उम्मेदवार नै चुनिएर भाग्यमानी साबित भएका छन्।

बर्दिबास नगरपालिका(८ को अध्यक्षका एमालेका रुद्र बहादुर किङ्गरिग मगर र माओवादीका उम्मेदवार समसेर सिंह लामा दुवै जनाले बराबरी मत प्राप्त गरे गोला प्रथा गर्दा समसेर सिंह नै विजयी भए । पहिले पनि मतगणना बाँकी छँदै उनी विजेता घोषणा भएका थिए । र उनले विजय उत्सव समेत मनाइसकेका थिए ।

मतपरिणाम सार्वजनिक भएको तीन दिनपछि गन्न बाँकी मतपेटिका भेटिएको थियो। बिहीबार मतगणना स्थलमा मतपेटिकाहरू संकलन गर्ने क्रममा एउटा गन्न बाँकी रहेको मतपेटिका भेटिएको थियो।

पछि हेर्दा उक्त मतपेटिका वडा नम्बर ८ को रहेको पाइएको थियो। त्यसपछि सर्वदलीय बैठक बसेर उक्त मतपेटिकाको मत गन्ने सहमति भएर मतगणना भएको थियो।

सम्शेरसिंह तीन दिन अगाडि मतपरिणाम घोषणा गर्दा विजयी भएका थिए। त्यतिबेला उनी एमालेका मगरलाई ७ मतले पछि पार्दै वडाध्यक्षमा चुनिएका थिए। लामाले ७५१ मत पाउँदा मगरले ७४४ मत पाएका थिए।

तर नयाँ मतपेटिकामा रहेको ६४ मत गन्दा माओवादीका लामालाई एमालेका मगरले उछिने। मगरले २३ मत पाउँदा लामाले जम्मा १६ मत पाए। योसँगै अन्तिम परिणाममा लामा र मगर दुबैको बराबर ७६७ मत आयो ।

मतपरिणाम बराबरी भएपछि गरिएको गोलाप्रथामा लामा नै भाग्यमानी ठहरिए, गोलाप्रथाको परिणाम उनकै पक्षमा आयो । उनि निराश हुनु परेन विजेताको विजेता नै ठहरिए ।

प्रतिक्रिया
नागरिक मिरर