निधि परिवारदेखि राजेन्द्र महतोसम्मले ठगे, भोट लगे मुद्दा छोडे

जनकपुरधाम । मङसिर ४ को निर्वाचनमा जित पोल्टामा पार्न हरेक क्षेत्रमा पुलकित उम्मेदवारहरूको दौडधुप तीव्र छ । त्यस्तै प्रचारप्रसारमा छन् धनुषा क्षेत्र नं. ३ का प्रतिनिधि सभाका नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी जुली कुमारी महतो र सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादीका अनिल झा ।

विमलेन्द्र निधिले समानुपातिक रोजेपछि यस क्षेत्रमा मुख्य प्रतिस्पर्धी महतो र झाको चर्चा चलेको हो । यो चर्चाले अहिले क्षेत्र नं. ३ मा आफ्नो सुनिश्चितताको लागि दिनहुँ दौडधुप जारी छ । जनताको घरसम्म पुग्ने कार्यकर्ता र जनतासँग प्रत्यक्ष जोडिन उम्मेदवारहरूको कार्यक्रम सञ्चालित छन् ।

तर, यस्तो चहलपहल सँधै भएर जनताको समस्या के छ ? के आवश्यकता छ ? कसरी शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकास गर्न सकिन्छ ? अब के–के गर्न पर्छ ? जस्ता सवालमा नेतृत्ववर्ग पुग्न नसकेको नगराइन नगरपालिका वडा नं ५ का सिताराम यादव बताउँछन् ।

हातमा हँसिया, जिउँमा गम्छा र बोरा बोकेर मध्यान्हको घाममा घाँस काटिरहेका सिताराम यादव ८० वर्षका छन् । उनि सामान्य रूपमा खेतिपाती गर्छन् । नगराइन नगरपालिका वडा २ मा रहेका उनको घर सुनसान छ । एक छोरा र दुई छोरी रहेका उनि छोरीको विवाह र छोरा विदेशीएसँगै एक्लो भएका छन् । उनि घरका सबै काम भ्याउँछन्, खेतीपाती हेर्नेदेखि मालजालसम्म स्याहार सुसार गर्छन् ।

गाउँघरमा चुनावको प्रचारप्रसार बढेपनि सितारामलाई छोएको छैन् । कारण हो, नेताले सिँचाईको समस्या समाधान गरेका छैनन् । उनिसँग १० कट्ठा जग्गा छ ‌। साउनमा गोडेको धानले पानी नपाएर पहेँलो फूल्न थालेका छन् । धानखेतमा चिरा पर्न आटेको छ । तर, यो समस्यासँग ४० वर्षदेखि जुद्ध आएको बताउँछन् ।

बाला बेगरका पहेँला फाट देखिन्छ । उनले औलाले देखाउँदै भने यो कुलो सिधा गए मेरो खेत पुगिन्छ । ’ देखू त् ! हे ! ओई पार – अर्थात् उता, हो ! त्यहाँ, त्यो खेतले बर्सेनि १० मनसम्म धान दिन्थ्यो तर अहिले मुस्किलले ४ मन दिन्छ । त्यो पनि दमकल र मलको सास्ति छ । ’

उनले यो समस्याको समाधान गरिदिन २०४७ सालदेखि महेन्द्र नारायण निधिदेखि बाबुको बिडो थामेका विमलेन्द्र निधि सम्मलाई भनिसके । तर, पटकपटकको भेटमा ईन्जिनियर पठाको छु । बन्छ । तर, न इन्जिनियर आएको देखे न त सिँचाईको लागि ड्याम नै बनेको यादवले गुनासो पोखे ।

नेता आक्कलझुक्कल गाँउ आउदा पटकपटक समस्या सम्झाएको सम्झन्छन् । महेन्द्रबाट नभएको समस्या समाधान, २०७० मङ्सिरको निर्वाचनमा विमलेन्द्र निधि निर्वाचित भएपछि आशा राखेका यादवको समस्या ०७४ मा निर्वाचित महतोले समेत समाधान गर्न सकेनन्।

त्यस यता उदासीन उनि नेता र कार्यकर्ताको नमस्ते समेत स्विकार गर्दैन्न । उनि भन्छन्, ’आटँ नहुनेको पनि के नमस्कार लिनु ।’ भोटको बेला नमस्कार गर्नेले त्यसरीनै समस्याको समाधान गरिदिए कति सहज हुन्थ्यो। उनले स्थानीय भाषामा भने, ’ खेतमे केसौर उखाइर‌ उखाईर क नेता सब द जाय छै ।’ अर्थात् जनतासँग ….

उनले स्थानीय निकाय नगराइन नगरपालिकाको नाम लिदै भने, ’ नगरपालिकालाई सडकसँगै खेतसम्म पोल र लाईन को व्यवस्था गर्दिन आग्रह गरेको । हाम्रो योजना मा राख्नै मिल्दैन भन्यो । त्यो त केन्द्रको काम हो । हाम्रो होईन ।’ उनले धान खेततिर आँखा लग्दै भने ।

सिँचाईको समस्या समाधान गर्न नसकेकालाई सिताराम यादवले यसपटक भोट नदिने बताएका छन् । रा.प्र. वि मरना विद्यालयमा रहेको मतदान केन्द्र उनलाई दुई कोश टाढा पर्छ ।

उनि भन्छन्, ’ समस्या समाधान नभएपछि किन २ घण्टा हिँड्दै गएर तिनैलाई जिताउने । अहँ यसपटक सिँचाईको काम बल्ल मतदान ।’ उनको यो शब्दसँग अनुहार न्याउरो भएको थियो ।

महेन्द्र नारायण निधिदेखि विमलेन्द्रसम्मबाट समाधान भएन सिँचाईको समस्या

पानी भएको कारण खेतमा रहेका धान सुक्न थालेका छन्‌ । गत हप्ता बल्लतल्ल दुःध बेचेको दुई हजार ३ सय रुपैयाँको जोहो गरेर उनले दमकल चलाए । तर, नियमित चलाउन नसकेकोले यसपाली पनि धान फलाउन नसक्नेमा उनि चिन्तित छन् । उनले यो समस्या समाधान हुने आश्वासन पाएको ४ दशक भईसकेको छ । तर, कहिल्यै नेताले समाधान नगरको बताउँछन् यादव । यहि क्षेत्रबाट महेन्द्र नारायण निधि, विमलेन्द्र निधि र राजेन्द्र महतोसम्मले जिते पनि मुद्दाले कहिल्यै जित नपाएको गुनासो गरे ।

राजनीतिक इतिहासलाई हेर्ने हो भने महेन्द्र नारायण निधिले यसै स्थानबाट २०१५ को पहिलो प्रतिनिधि सभा निर्वाचन जितेका थिए भने दोस्रो पटक २०४७ सालमा सोही क्षेत्रबाट जितेका थिए । त्यस्तै बाबुको बिडो थामेका विमलेन्द्र निधिको पनि सत्ताको केन्द्र नगराइन नै रहेको छ । ०५२ देखि २०७४ सम्मको निर्वाचनमा पटक पटक यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचित निधिले पनि सिचाईको समस्या समाधान गर्न सकेनन्।

अन्ततः २०७४ निधि परिवारले समस्या समाधान गर्न नसकेको भनेर सिताराम यादवले सर्लाहीका राजेन्द्र महतोलाई जिताए । तर, उनको पनि आश्वासन दुःधमा पानि भएको बताउँछन् यादव ।

दोस्रो पटक निर्वाचित भएका महेन्द्र नारायण निधि कृष्ण प्रसाद भट्टराईको प्रधानमन्त्रीत्वकालमा जलस्रोत तथा स्थानीय विकास मन्त्रि समेत रहेका थिए । उनि मन्त्रि हुँदा तत्कालीन २०४७ मा नगरसईनको दुर्गा मन्दिर प्राङ्गणमा भएको भेलालाई सम्बोधन गर्दा नगराइन, घोड्घाँस, खड्का, लगमा, जटहि लगायत क्षेत्रमा कमलाको पानीबाट सिचाई गर्ने बताएको सम्झन्छन् सिताराम ।

उनको त्यस भाषणबाट प्रफुल्लित भएका सयौँ किसानको आशाले सहनशीलता गुमाई सकेको छ । तर, सिँचाईका लागि पानी भने अहिल्यै पनि पाएका छैन्न । तर, हरेक निर्वाचनमा सिचाईको प्रवन्ध मिलाउने भन्दै झुट बोल्ने गरेको बताउँछन् ।

प्रतिक्रिया