फोहोरको डङ्गुरबीच सेवा प्रवाह गर्दै प्रादेशिक अस्पताल

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको व्यस्त सडकहरु मध्येको हो अस्पताल रोड । जनकपुरधामको एकमात्र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको प्रादेशिक अस्पताल रोड व्यस्त तथा प्रदुषित छ ।
सामान्यतया मानिस अस्पताल भन्ने वित्तिकै निको हुने आशा तथा सफा हुने मानचित्र आउँछ होला । तर, मधेश प्रदेशकै एकमात्र रहेको प्रादेशिक अस्पताल भने फोहरको डङ्गुरबीच सेवा प्रवाह गर्दै आएको छ ।
अस्पतालको मुख्य गेटको दायापट्टि बाह्रविग्गाको छेउबाट जनस्वास्थ्यको मुलढोकामा पुगिन्छ। उक्त मुल ढोका प्रवेश गर्नु अगाबै फोहरको डङ्गुरले स्वागत गर्छ ।
अहिले मुख्य प्रवेशद्वारमा मर्मत तथा निर्माण कार्य संचालन भएकाले पछाडि (जनस्वास्थ्यको ढोका) प्रयोगमा ल्याईएको छ । प्रयोगमा आएको ढोका छिचोल्ने सडकको आगाडी नै फोहोरले दुर्गन्धित छ । जसका कारण आवतजावतमा सेवाग्राहीहरुले कठिनाई भोगिरहेका छन्।
महोत्तरी रामगोपालपुर घर भएका रोशन यादव आफ्नो श्रीमतीको उपचारका लागि तीन दिनदेखि अस्पतालमा छन् । श्रीमतीको प्रसुती सेवाका तीनदिनदेखि अपस्तालमा बस्दा अव्यवस्थित फोहोर र सडकपारीको दुर्गन्धले आफुपनि विरामी हुने अवस्थामा पुगेको नागरिक मिररलाई बताए । उनी बाटो देखाउँदै भन्छन,’एक त यो बाटो दुर्गन्धित छ । श्वास लिनै सकिन्न । त्यसमाथि कुईने, सड्ने र अस्पतालको सबै फोहर यतै फाल्छन् । मानिस निको हुने भन्दा बिरामी भएर जान्छन् ।’
त्यस्तै उपमहानगरपालिका १० बस्ने फुल्गेन दासले मानिसको अपरिपक्वता तथा सरसफाई प्रतिको हेलचेक्राइँले अस्पताल रोड दुर्गन्धित हुँदै गएको बताए । लामो समयदेखि त्यस सडकमा फोहर नफ्याल्न आग्रह गरे पनि व्यवसायी तथा सडक व्यपारिले उक्त कुनामै फोहर फ्याक्ने गरेका छन् । दासले पहिलेको अभियान सम्झिँदै भने, ’यो सडकको फोहर उठाई व्यवस्थापन गर्न र अस्पताल रोडलाई ट्राफिक जाम मुक्त गर्न नगरले मोटरसाइकल पार्किङ्गको व्यवस्थापन गरे पनि स्थानीय मानिसले दुर्गन्धित बनाउदै गएपछि जस्ताको तस्तै भएको छ ।’
नगरका स्थानीयले नै फोहरको व्यवस्थापनमा जिम्मेवारी नबोकेको उपमहानगरपालिकाका मेयर मनोज साहले बताए । मेयर साहका अनुसार मानिसले ट्याक्टरमा फोहर व्यवस्थापन गर्नुपर्नेमा खालीठाउँ तथा मनोमानी ढंगले जथाभावी फोहर फ्याल्दा स्वच्छ र हरियाली जनकपुरको परिकल्पनामा आघात पुगेको जनाएका छन् ।
’स्वच्छ तथा सफा नगर बनाउन दैनिकरुपमा ट्याक्टर पठाएका हुन्छौँ । वडा र स्थानीयको साझेदारीमा सडकका सबै फोहर उठाइन्छ ।’ मेयर साहले भने, ’ उठाएको समयमा नभएर आफूखुसी जथाभावी फोहर फ्याक्ने गर्दा जनकपुरमा फोहर जस्ताको त्यस्तै देखिएको छ ।’
मेयर साहले स्थानीय मानिसले नै सफा राख्न र स्वच्छ वातावरणलाई विकार गर्ने गरेकोले उक्त कार्यलाई नियन्त्रण गर्न तथा जनचेतनाका लागि कडा कदम लिने बताएका छन् । मानिसले जथाभावी फोहर फाल्ने वानीलाई नियन्त्रण नगरे कानून बनाएरै नियन्त्रण गर्न वाध्य हुने नागरिक मिररसँगको कुराकानी बताए ।






