मधेशको अधिकांश खेत बाँझै, धनुषामा २७ प्रतिशत मात्रै रोपाइँ

जनकपुरधाम । ‘कमला महारानी अइबेर कथिला खिसियाइल छथिन् ? जिन्गीमे नै देख्नेछलीय साउन महिनामे सुखायल कमला ।’ धनुषाको पूर्वी क्षेत्र र सिरहाको पश्चिमी क्षेत्रका आम किसानको मुखबाट आजकल नियमित रुपमा निस्किने यी मैथिली वाक्यको अर्थ हो, ‘कमला महारानी यसपाली किन रिसाउनु भएको छ ? जीवनमा कहिल्यै पनि साउन महिनामा सुकेको कमला देखेकै थिइनँ ।’ बाह्रै महिना बगिरहने कमला नदीमा यतिबेला चैत, वैशाख महिनामा बग्ने जतिकै पानी छ अहिले । असारको पहिलो र दोस्रो साता भरेको कमला तेस्रो सातादेखि अहिलेसम्म लगभग सुक्खा छ ।
जिल्लास्थित कृषि ज्ञान केन्द्र र पालिकाहरुले सिँचाइका लागि स्यालो ट्युवेल तथा बोरिङ जडान गर्न अनुदान उपलब्ध गराउँदा पनि यी क्षेत्रका किसानको खासै चासो हुँदैनथ्यो । किनकी, चाहिएको बेला नहरमा पानी उपलब्ध भइहाल्थ्यो । यसपाली कमला नदीको माथिल्लो क्षेत्रमा लामो समयदेखि वर्षा नै भएन । मुहान नै सुकेपछि नदीमा कहाँबाट पानी बग्नु ? कमला नदीमै पानी नभएपछि सिँचाइको लागि निर्मित नहरमा पानी आउने कुरै भएन । परिणामस्वरुप भूमिगत जलसिँचाइको वैकल्पिक व्यवस्था गरिएको क्षेत्रमा जसोतसो धान रोपाइँ भएपनि नहरबाट सिँचाइ हुने क्षेत्र साउनको दोस्रो साता बित्न लाग्दा पनि सुक्खा परेको छ ।
खडेरीले यस वर्ष मधेश प्रदेशमै धान खेती प्रभावित भएको छ । अधिकांस खेत आवश्यक पानीको अभावमा पर्ती अवस्थामै छ भने रोपाइँ भइसकेको खेतमा पनि धाँजा फाटेको छ । बोरिङमा विधुतीय मोटर तथा दमकल जडान गरी रोपाइँ भएको खेतमा पनि पर्याप्त पानी नपुगेर बाली सप्रिन नसकिरहेको स्थानीय किसानको दुखेसो छ ।
‘तीन विघा धानखेती गर्ने तयारी थियो । एक विघामा मोटरले पानी लगाएर रोपाइँ त गरेँ तर खेतमा पानी जमिरहन सक्ने अवस्था छैन । बाँकी दुई विघा कहिलेसम्म रोपाइँ गर्ने हो ठेगानै छैन्’ धनुषास्थित सबैला नगरपालिकाका किसान जगतसुन्दर साहले भने ।
मधेश प्रदेशस्थित कृषि निर्देशनालयको तथ्यांक अनुसार साउनको दोस्रो सातासम्म यस प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ सकेको छ । समान्यतया रोपाइँ कार्य सम्पन्न भइसक्नुपर्ने बेलामा आइपुग्दा मधेशका आठ जिल्लाको समष्टिगत विवरण केलाउँदा लगभग ४१ प्रतिशत धानखेती रोपाइँको लागि पानीको प्रतिक्षामा रहेको प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक कमलदेव कुशवाहाले जानकारी दिए ।
मधेश प्रदेशमै सबैभन्दा बढी रोपाइँ सप्तरीमा भएको छ भने सबैभन्दा कम धनुषामा । निर्देशनालयले उपलब्ध गराएको रेकर्ड अनुसार सप्तरीमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ । धनुषामा जम्मा २७ प्रतिशत रोपाइँ भएको
निर्देशनालयको तथ्यांकले पनि कमला नदीबाट सिंचित हुने क्षेत्रमा अहिलेसम्म रोपाइँ हुन नसकेको देखाउँछ । कृषि मन्त्रालयको रेकर्डले पछिल्लो समय सबैभन्दा बढी बोरिङ सप्तरी जिल्लामा जडान गरिएको छ । धनुषामा कमला र हर्दिनाथ सिँचाइ परियोजना पहिलेदेखि नै रहेको निहुँमा स्यालो ट्युवेल तथा डीप बोरिङहरु खासै जडान गरिएन । यसको परिणाम मधेश प्रदेशमै सबैभन्दा बढी रोपाइँ सप्तरीमा भएको छ भने सबैभन्दा कम धनुषामा । निर्देशनालयले उपलब्ध गराएको रेकर्ड अनुसार सप्तरीमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ । धनुषामा जम्मा २७ प्रतिशत रोपाइँ भएको कृषि निर्देशनालयका निमित्त निर्देशक कुशवाहाले जानकारी दिए ।
मधेश प्रदेशमा दोस्रो बढी रोपाइँ कार्य सम्पन्न भएको जिल्ला हो बारा र तेस्रो रौतहट । बारामा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने रौतहटमा ७० प्रतिशत । महोत्तरीमा ६० प्रतिशत र पर्सामा ५५ प्रशित रोपाइ कार्य सम्पन्न भएको छ । सर्लाही र सिरहामा ५० प्रतिशतको दरले धान रोपाइँ सम्पन्न भएको निर्देशनालयले जानकारी दियो ।
कमला, हर्दिनाथ लगायत सतही सिँचाइ परियोजनाहरु खडेरीको कारण प्रयोगविहिन अवस्थामा छ ।
प्रदेश कृषि निर्देशनालयको अनुसार मधेश प्रदेशमा ५ लाख ७४ हजार ३ सय ६० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेको छ । ती मध्ये साना तथा ठूला सिँचाइका स्रोतहरु समेतलाई आधार मान्ने हो भने ३ लाख ५७ हजार ७ सय ९३ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइको व्यवस्था छ । त्यसमा पनि कमला, हर्दिनाथ लगायत सतही सिँचाइ परियोजनाहरु खडेरीको कारण प्रयोगविहिन अवस्थामा छ ।
धान उत्पादनको दृष्टिकोणले मधेशको सबैभन्दा बढी धान फल्ने जिल्लाको रुपमा धनुषाको पहिचान छ । प्रदेश कृषि निर्देशनालयको रेकर्ड अनुसार सबैभन्दा बढी धनुषा र सबैभन्दा कम रौतहटमा धान उत्पादन हुने अनुमान गरिएको छ । निर्देशनालयले धनुषामा २ लाख ५१ हजार १ सय ८६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ भने रौतहटमा १ लाख ३४ हजार ७ सय ६० मेट्रिक टन । बारामा २ लाख ४८ हजार ६ सय ६३ मेट्रिक टन, पर्सामा १ लाख ९१ हजार ९ सय २५ मेट्रिक टन, सप्तरीमा १ लाख ८३ हजार ८ सय ८८ मेट्रिक टन, सर्लाहीमा १ लाख ७३ हजार ६ सय १८ मेट्रिक टन, सिरहामा १ लाख ७२ हजार १ सय ७६ मेट्रिक टन र महोत्तरीम १ लाख ३८ हजार ८ सय २९ मेट्रिक टन धान उत्पादन हुने अनुमान निर्देशनालयको छ ।
समय क्रमसँगै रोपाइँमा ढिलाइ भएकै कारण उत्पादनमा कमी हुने अवस्था देखिन्छ ।
यसपाली धानका लागि खेतीयोग्य मानिएको मध्ये अधिकांस जग्गा समयमा पानी उपलब्ध नभएको कारण बाँझो रहन पुगेको छ । रोपाइँ भइसकेको क्षेत्रमा पनि आवश्यक पानीको जोहो हुन नसक्दा अनुमान गरिए अनुसार उत्पादन हुन सक्ने अवस्था नरहेको कुशवाहाको भनाइ छ । साउनको तेस्रो सातासम्म मधेश प्रदेशमा वर्षा भए केही हदसम्म धानखेतीमा सुधार हुन सक्ने सम्भावना रहेको बताउँदै उनले भने, ‘समय क्रमसँगै रोपाइँमा ढिलाइ भएकै कारण उत्पादनमा कमी हुने अवस्था देखिन्छ ।’
मधेशलाई सुक्खा क्षेत्र घोषणा गरी धान खेती गर्ने किसानलाई उचित राहत उपलब्ध गराउन संघीय सरकार र प्रदेश सरकारसँग माग उठ्न थालेको छ । प्रदेशसभा र प्रतिनिधिसभामा उठिरहेको यो आवाजलाई अहिलेसम्म सरकारले सुनेको जस्तो प्रतिक्रिया दिइसकेको छैन् ।






