महोत्तरीमा प्रहरीले बरामद गर्यो दुई कार्टुन ‘सोफी’ रक्सी

महोत्तरी । महोत्तरीमा प्रहरीले दुई कार्टुन सोफी रक्सी बरामद गरेको छ । प्रहरीले नेपालबाट भारतर्फ अवैध रुपमा भन्सार छली गरेर चोरी निकासी गरी लगिरहेको दुई कार्टुन रक्सी बरामद गरेको हो ।
प्रहरीले आज बिहान करिब ११ बजेको समयमा जिल्लाको मनराशिस्वा नगरपालिका वडा नं.१० स्थितबाट बिआर२०आर१५६७ नम्बरको मोटरसाईकलमा लगिरहेको सोफी रक्सी नियन्त्रणमा लिएको छ । प्रहरीले मोटरसाईकलमा पनि नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी बथनाहाबाट खटि गएको प्रहरी टोलीलाई देख्न साथ उक्त रक्सीको कार्टुन र मोटरसाईकल सोही स्थानमा छाडी फरार भएपछि प्रहरीले रक्सी र मोटरसाइकल दुबै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको उक्त रक्सी अन्दाजी ३४ हजारको रहेको प्रहरीले जनाएको छ । उक्त रक्सी आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाउने प्रकृया भईरहेको महोत्तरी प्रहरीले जनाएकोछ ।






