नेपालले रच्यो इतिहास, वेस्ट इन्डिजमाथि ९० रनको फराकिलो जित

काठमाडौं । नेपालले यूएईमा जारी युनिटी कप टी-२०आई श्रृङ्खलामाथि एक खेल अगावै कब्जा गरेको छ ।
सोमवार भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले श्रृङ्खलामाथि जित हात पारेको हो । नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिजले खराब प्रदर्शन गर्दै ८३ रन मात्रै बनाउन सक्यो ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए भने अन्य कुनैपनि खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका आदिल आलमले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए भने कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।
नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खेले । आसिफले ४७ बलमा अविजित ६८ रन बनाए । जोराले ३९ बलमा ६३ रन बनाए ।
वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । काइल मेयर्सले २ ओभरमा २६ रन दिएर २ विकेट लिए । जेदिया ब्लेड्सले एक विकेट हात पारे ।
यसअघि पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई हराएर ऐतिहासिक जित हासिल गरेको थियो । यस खेल जितपछि नेपालले टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक श्रृङ्खला समेत जितेको छ ।






