रास्वपा जनकपुर उपमहानगरको सभापतिमा ३४ जनाको दाबी

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनकपुरधाम उपमहानगरपालिका सभापति पदका लागि ३४ जना आकांक्षी देखिएका छन्।

उपमहानगरपालिकाका २५ वडामध्ये २१ वडामा सर्वसम्मत रूपमा वडा समिति गठन भइसकेको छ भने बाँकी चार वडामा समिति चयन हुन अझै बाँकी रहेको छ। वडा अधिवेशन सम्पन्न भइसकेपछि आइतबारका लागि तय गरिएको नगर अधिवेशनमा सभापति पदका लागि ३४ जनाले दाबी गरेका हुन्। यद्यपि सहमतिमै नगरसभापति चयन गर्नका लागि प्रयास भइरहेको बुझिएको छ।

उपमहानगरका सबै वडा अधिवेशन शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन्। सवै वडाका अधिवेशन सम्पन्न भएपछि आइतबार नगर अधिवेशन पनि सौहार्दपूर्ण वातावरणमै हुने अपेक्षा गरिए थियो । तर समय अभावका कारण निर्धारित मितिमा निर्वाचन प्रक्रिया टुंग्याउन नसकिएको निर्वाचन समितिका संयोजक आशिषकुमार साहले बताए।

उनले यसै साता नयाँ मिति तोकेर नगर अधिवेशन तथा निर्वाचन प्रक्रिया सम्पन्न गरिने जानकारी दिए।

सभापति पदका लागि ललन नायक, जितेन्द्र महासेठ, दीपनारायण साह, मुकेश साह र सुनिल साहलगायतका नेताहरू आकांक्षी रहेका छन्।

प्रतिक्रिया